नबिल बैंकको शाखा कार्यालय पूर्वाञ्चल विश्वविद्यालय  परिसरमा शिलन्यास 

२८ बैशाख २०८०, बिहीबार १०:२७

काठमाडौं । नबिल बैंक लिमिटेडले पूर्वाञ्चल विश्व विद्यालयभित्र शाखा कार्यालय र सभागृह बनाउने भएको  छ । विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५० सिट क्षमताको सभागृहको शिलान्यास गरेका छन्  ।

विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न नबिल बैंकले जनाएको छ । साथै, नबिल बैंकले विश्वविद्यालयको लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने भएको छ ।

शिलान्यास कार्यक्रमा शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति अशोक राईले बैंकले नाफा नहेरी यो कार्य गरेको भन्दै खुसी व्यक्त गरे । ‘यस किसिमको सहकार्यले बैंक नाफा केन्द्रित मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्छ भन्ने सन्देश जानेछ’ मन्त्री राईले भने ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण ३ महिना भित्र सकिने र शाखा सञ्चालनमा आउने बताए । उनले नबिल बैंक बैंकिङ क्षेत्रमा नै नयाँ सेवा सुविधाहरू प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्ष स्थान रहेको जानकारी गराए ।

विश्वविद्यालय उपकुलपति यादवराज कोइरालाले विश्वविद्यालय परिसरमै अपरिहार्य बनेको बैंक शाखा र सभागृह बनाउन थालेकोमा खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा शाखा कार्यालय खोल्नुले  विश्वविद्यालयका कर्मचारी, विद्यार्थी, प्राध्यापकका साथै गोठगाउँका बासिन्दाहरूलाई पनि वित्तीय कारोबारमा सहयोग पुग्ने बताए ।

विश्वविद्यालयका रजिष्टार नीलमणि पोखरेलले सभागृह र बैंकको शाखा कार्यालय बन्नु विश्वविद्यालय र स्थानीयको लागि खुसीको विषय भएको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*