स्वावलम्बन लघुवित्तको खराब कर्जाले सीमा नाघ्यो, खुद नाफा ६५% ले घट्दा ब्याज आम्दानी एक अर्ब माथि

२८ बैशाख २०८०, बिहीबार ११:२२

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ९ करोड ८७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा ६५.२५ प्रतिशतले घट्न पुगेको हो । गत आवको यसै अवधिसम्म संस्थाले २८ करोड ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको खराब कर्जा अनुपात ८.४६ प्रतिशतबाट बढेर १२.९८ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपातले सीमा नाघेपछि संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । यता खराब कर्जा बढेपनि लघुवित्तको खुद ब्याज आम्दानी भने ७.९० प्रतिशतले बढेर एक अर्ब ४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

साथै संचालन मुनाफा सो अवधिसम्म १२ करोढ ४१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । यसकारण पनि संस्थाको नाफा घट्न पुगेको हो ।

लघुवित्तको चुक्तापुँजी १५ प्रतिशतले बढेर एक अर्ब २९ करोड ४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ७.७८ प्रतिशतले घटेर कोषमा १ अर्ब ६९ करोड ८० लाख रुपैयाँ संचित रहेको छ । सो अवधिसम्म संस्थाको निक्षेप संकलन १२.१७% ले बढेको छ भने कर्जा अनुपात ३.४५% ले घटेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी वार्षिकीकरण १०.२१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*