आरम्भ चौतारी लघुवित्त नोक्सानमा, इपीएस समेत ऋणात्मक, अधिकांश सूचक नकारात्मक
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५६ लाख ९१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष यही अवधिसम्म संस्थाले ४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म संस्थालाई ५६ लाख ९१ हजार रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २७.९२ प्रतिशतले घटेर १९ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २६ करोड ८८ लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्म संस्थाको एनपीएल बढेर १०.५८ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४.७१ प्रतिशत थियो।
खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्ता चार्ज १ करोड ८८ लाख रुपैयाँ थियो। चुक्तापुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म संस्थाको रिजर्भको आकार पनि घटेर १२ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा १२ करोड ८९ लाख रुपैयाँ रहेको थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.०७ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस १७.८७ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १४१.३९ रुपैयाँ रहेको छ।