उपकार लघुवित्तको मुनाफा ९४ प्रतिशतले खुम्चियो, चुक्तापुँजी १५२% ले बृद्धि

२८ बैशाख २०८०, बिहीबार १२:१९

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापुँजी १५२.७३ प्रतिशतले बृद्धि भएको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आवको ९ महिनासम्ममा लघुवित्तको चुक्तापुँजी शतप्रतिशत भन्दा बढीले बृद्धि भएको हो ।

गत वर्षको चैत मसान्तसम्म ४ करोड २० लाख रुपैयाँ चुक्तापुँजी रहेको उपकार लघुवित्तको यस अवधिसम्म १० करोड ६१ लाख रुपैयाँ पु्गेको छ । लुघवित्तले यस वर्ष सर्वसाधारणहरुका लागि आइपीओ जारी गरेका कारण पनि चुक्तापुँजी बढ्न पुगेको हो ।

साथै तेस्रो त्रैमाससम्म लघुवित्तले १५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । यो नाफा गत वर्षको तुलनामा ९४.८८ प्रतिशतले कम हो । गत आवको यस अवधिसम्म संस्थाले २ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

साथै यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर ८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष संस्थाले ९ करोड ९२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । साथै लघुवित्तको संचालन मुनाफा भने यस अवधिसम्म ४५ लाख ११ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यसकारण पनि संस्थाको नाफा प्रभावित देखिएको हो ।

लघुवित्तको जगेडा कोषको आकार २४.९७ प्रतिशतले घटेर कोषमा जम्मा ११ करोड ७४ लाख ९२ हजार रुपैयाँ संचित रहेको छ । संस्थाले सो अवधिसम्म एक अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र एक अर्ब ९५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १.९२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ २२ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात १.५९ प्रतिशतबाट बढेर ५.७४ प्रतिशतमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*