बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दै, बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशत मुनि

काठमाडौं। बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेशियो निरन्तर घट्दो क्रममा देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेशियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले बैंकहरु अहिले कर्जा लगानी गर्न सहज अवस्थामा रहेको देखाउछ।
चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सिडि रेशियो अहिले घट्दो क्रममा छ। केहि बैंकको सिडि रेशियो ८० प्रतिशतभन्दा पनि तल झरेको छ।
मर्जरमा गएका बैंकहरुको भने सिडि रेशियो केहि माथि छ। बैंकहरुले नियामकीय सुविधा पाउने भएकोले पनि उनीहरुले सिडि रेशियो ९० प्रतिशत कटाएर समेत कर्जा दिएका थिए। त्यसैले गर्दा त्यस्ता केहि बैंकको भने सिडि रेशियो माथि नै छन्।
बैंकहरुको सिडि रेशियो घट्दै जाँदा बैंकहरुको लगानी गर्नसक्ने पूँजी पनि बढ्दै गएको देखिन्छ। पछिल्लो समय निक्षेप संकलन सामान्य बढीरहेको भए पनि कर्जा लगानी खासै बढेको छैन। बैंकहरु असुलिमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा छ।
बैशाख यता बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३४ अर्ब रुपैयाँले घटेको छ। जेठ २ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ छ।