सिटिजन्स बैंक र जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनीस्थित केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ‘स्टेनेबल इकोनोमी डेभलपमेन्ट इन रुरल एन्ड सेमी–उर्बान एरियाज–एमएसएमई फायनान्स फेज–३ (एसईडीआरए–३)’ अन्तर्गत युरो ३५ लाख पुनर्कर्जा र युरो ५ लाखबराबरको प्रावधिक सहयोग प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
स्थापनाकालदेखि नै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे सिटिजन्स बैंकलाई केएफडब्लू डेभलपमेन्ट बैंकले एसईडीआरए–३ प्रोजेक्टमा समझदारीका लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्येबाट चयन गरेको हो। नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लू डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दिगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनुपर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको सिटिजन्स बैंकले उक्त शीर्षकअन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तीकरणमा टेवा पुर्याएको विश्वास बैंकले लिएको छ ।
यसका साथै सिटिजन्स बैंकले लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म ५ हजार ४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। ग्रामीणस्तरमा रहेका विपन्नवर्गलाई समूहमा आबद्ध गरी कर्जा प्रदान गर्दा ग्रामीण जनताहरु बढी व्यावसायिक भई लाभान्वित हुँदै जानेछन् भन्ने विश्वासका साथ बैंकले यस एसईडीआरए–३ परियोजनाअन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुर्याउने छ ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।