‘रिटर्न अन इक्विटी’ हेरेर शेयर किन्दा कुन वाणिज्य बैंक रोज्ने ? कुन बैंकको आरओई कति ?

१२ जेष्ठ २०८०, शुक्रबार १६:२५

काठमाडौं । बैंकहरुमा पछिल्लो समय सम्पत्तिमाथिको प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई) घट्दै गएको देखिन्छ ।बैंकहरुको नाफा अर्बौंमा देखिए पनि उनीहरुले आफूले कति लगानी गरेर कति नाफा गरे भन्ने बिषय महत्वपूर्ण हुन्छ । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्छ । सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो।

शेयर लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा आरओई हेरेर लगानी गर्ने गर्छन्। आरओई चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १०.८० प्रतिशतमा झरेको छ। गत वर्षको तेस्रो त्रैमासिकसम्म १३.५४ प्रतिशत रहेको थियो। चुक्ता पुँजी बढ्दै जानु तथा आम्दानीका स्रोतहरु घट्दै जानुले आरओईमा असर गरेको देखिएको बैंकरहरु बताँउछन् । अर्को आधारमा हेर्ने हो भने बैंकको प्रोभिजनको कारण पनि आरओईमा फरक पर्न गएको देखिन्छ । वाणिज्य बैंकहरूले तेस्रो त्रैमासमा ४८ अर्ब १८ करोड ६३ लाख ३४ हजार रूपैयाँ नाफा गरेका छन्। तर गतवर्ष सोही अवधिमा ५१ अर्ब १ करोड ७८ लाख २० हजार रूपैयाँ नाफा गरेका थिए।

वाणिज्य बैंकहरुको औसत आरओई चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १०.८० प्रतिशत रहेको छ। १० वटाको आरओई औसतभन्दा माथि रहेको छ भने अन्य १० वटाको आरओई औसतभन्दा तल रहेको छ। सबैभन्दा बढी एनआईसी एसिया बैंकको आरओई १८.६० प्रतिशत रहेको छ। यस्तै, स्ट्यान्डर्ड चार्टर्डको पनि १८.०८ प्रतिशत रहेको छ।

चार्टर्ड, एभरेष्ट, नेपाल एसबीआई र ग्लोबल आइएमई बैंकको मात्र आरओई बढेको छ। बाँकी सबै बैंकको आरओईमा गिरावट देखिएको छ। सबैभन्दा कम कृषि विकास बैंकको ४.२५ प्रतिशत मात्र रहेको छ। समग्रमा हेर्दा विगत वर्षहरुमा उल्लेख्य मात्रामा चुक्ता पुँजी वृद्धि नगरेका वाणिज्य बैंकहरु इक्विटीमा प्रतिफलको सूचीमा अरुभन्दा अगाडि देखिएका छन्।

बैंकहरूको सम्पत्तिको प्रतिफल अर्थात आरओईले नै शेयरधनीले कति लाभांश पाउन सक्छन् भन्ने विषय निर्धारण गर्दछ । जुन कम्पनीको आरओई बढी हुन्छ सेयर लगानीकर्ताहरू पनि सोही कम्पनीको शेयर खरिद गर्न चाहन्छन् ।

लगानीको प्रतिफल (आरओई)ले नै लाभांश निर्धारण गर्ने भएकोले सेयर लगानीकर्ताहरू पनि बढी आरओई भएको कम्पनी नै छनोट गर्छन् । तर, पछिल्लो समय बैंकहरूको आरओई भने घट्दै गइरहेको छ । बैंकहरूको पुँजी बढ्दै जाँदा र खुद नाफा घट्दै जाँदा आरओई घट्दै गइरहेको एक बैंकका सिईओले बताए ।

नाफामा गिरावट आउने र पुँजी बढ्ने कारणले आरओई घट्दै गइरहेको छ, चौथो त्रैमासमा खुद नाफा राम्रो देखिन्छ भन्ने अपेक्षा रहेको उनले बताए । उनले आरओईले सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*