मर्जर र लाभांश प्रस्तावसहित समीट लघुवित्तद्वारा पुनः वार्षिक साधारणसभा आह्वान

१४ जेष्ठ २०८०, आईतवार ०९:५७

काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४औँ वार्षिक साधारणसभा पुनः बोलाएको छ । संस्थाको शनिबार बसेको संचालक समितिको बैंठककोे निर्णयले सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा असार ३ गते आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ ।

संस्थाले यसअघि वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको थियो । तर, संस्थाले गत शुक्रबार एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जानकारी गराएको थियो ।

सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न सर्वसाधारणतर्फ अपुग ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले नेसनल माइक्रोफाइनान्ससँग मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि कायम गरिएको नेसनलको १०० बराबर समीटको ७३ कित्ता सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत मर्जरसम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने निर्णय पनि सभाले पारित गर्नेछ । मर्जरपछि नेसनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*