विदेशी विनिमय संचिति २० प्रतिशतले बढ्यो

२६ जेष्ठ २०८०, शुक्रबार १३:२६

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दश महिनासम्ममा विदेशी विनिमय संचिति २०.९ प्रतिशतले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय तथ्याङ्कअनुसार दश महिनासम्ममा विदेशी विनिमय संचिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

२०७९ असार मसान्तमा विदेशी विनिमय संचिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । २०८० वैशाख मसान्तसम्म आइपुग्दा कुल विदेशी विनिमय संचिति २०.९ प्रतिशतले वृद्धि भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*