लघुवित्तहरुमध्ये दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्यो ‘आत्मनिर्भर लघुवित्त’

२९ जेष्ठ २०८०, सोमबार ११:४८

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्न सफल भएको छ ।

यसअघि दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको नेष्डो समृद्ध लघुवित्तलाई उछिन्दै आत्मनिर्भर लघुवित्तको शेयरमूल्य २ हजार माथि पुगेको छ । यो समाचार तयार पार्दासम्म आत्मनिर्भरको शेयरमूल्य शुन्य दशमलव ९३ प्रतिशतले घटेपनि शेयरमूल्य २०३१ रुपैयाँमा कायम रहेको छ । जसमा नेष्डोको शेयरमूल्य शुन्य दशमलव १५ प्रतिशतले बढेतापनि २००२ रुपैयाँमा सीमित रहेको छ ।

नेष्डो समृद्ध लघुवित्तले आफ्ना शेयरधनीहरुको हितको लागि लाभांश विषयमा नेपाल राष्ट्र बैंकविरुद्ध नै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन असमर्थन जनाएसँगै लघुवित्तले मुद्दा हारेको छ । लगत्तै नेष्डोको शेयरमूल्य घट्न थालेको हो ।

यता नेप्सेमा सूचीकृत पश्चात वैशाख १९ गतेदेखि कारोबारमा आएदेखि लगातार शेयरमूल्य उकालो लागेको आत्मनिर्भर लघुवित्तको करिब एक महिनापश्चात् शेयरमूल्य ग्रोथमा ब्रेक लागेको हो । ४०३ रुपैयाँ ८ पैसामा शेयर कारोबार खुलेको संस्थाको शेयरमूल्य त्यसलगत्तै क्रमशः बढ्दै २ हजार रुपैयाँमाथि पुगेर ब्रेक लागेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आत्मनिर्भर लघुवित्तले ४ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको प्रतिशेयर आम्दानी नै ९५ रुपैयाँ ४१ पैसा र नेटवर्थ ४३६ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, दोस्रो बजारमा लगानीकर्ताहरुको सर्वाधिक रोजाइमा पर्ने महिला लघुवित्तको शेयरमूल्य पनि १.८७ प्रतिशतले बढेर १८९९ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*