मर्ज हुन लागेका लक्ष्मी र सनराइज बैंकका सिइओहरुको कति छ तलब भत्ता ?

२९ जेष्ठ २०८०, सोमबार १२:४१

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुबै संस्थाले मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा र विशेष साधारण सभा आह्वान गरेका छन् ।

सनराइज बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा असार ३ गते आइतबार आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको छ । त्यस्तै, लक्ष्मी बैंकले असार ३ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे विशेष सभा बस्नेगरी डाकेको हो । लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा भने गत पुष २८ गते सम्पन्न भइसकेको छ ।

लक्ष्मी बैंकको सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफलगरी पारित गरेको छ, भने सनराइज बैंकको असार ३ गते हुने १५औं सभामार्फत छलफल गरी पारित गरिनेछ ।

सार्वजनिक प्रतिवेदनअनुसार लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय बिक्रम शाहले वार्षिक तलब भत्ता बापत १ करोड ३२ लाख ३२ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै, बैंकका अन्य उच्च पदाधिकारीहरुले कुल ७ करोड ६० लाख २९ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् ।

यता सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुमन शर्माले एक करोड ३८ लाख ४७ हजार रुपैयाँ वार्षिक तलब भत्ता बुझ्नेछन् । साथै व्यवस्थापन तहका अन्य पदाधिकारीहरुले कुल ६ करोड २७ लाख ५८ हजार रुपैयाँ वार्षिक तलब भत्ता बुझ्नेछन् । असार ३ गते हुने बैंकको वार्षिक साधारण सभामार्फत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

असार ३ गते हुने बैंकको वार्षिक साधारण सभा र विशेष सभाले मर्जरसम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछन् । दुबै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार सुर हुनेछ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने बैंकले जनाएको छ । मर्जरपछि बैंकको चुक्तापुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*