लघुवित्तका कर्मचारीको बदमासी, बचतकर्ताको नाममा साढे १ करोड रुपैयाँ हिनामिना

३१ जेष्ठ २०८०, बुधबार १४:४८

काठमाडौं। नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा १ करोड ३१ लाखसम्म हिनामिना भएको देखिन्छ । निवेदनहरू आउने क्रम जारी रहेकाले यो रकम अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।उनका अनुसार सुरुमा ७२ लाख हिनामिना भएको भन्दै लघुवित्तबाटै जाहेरी आएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा झन्डै डेढ करोड हिनामिना भएको देखिएको हो ।लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै वैशाख २९ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीले सुरुमा जेठ १ मा तत्कालीन शाखाप्रमुख जोशी, लेखाअधिकृत भागरथी कुँवर र बचतकर्ता शारदा थापालाई पक्राउ गरेको थियो ।अनुसन्धानमा थप दुई जनाको पनि संलग्नता देखिएपछि फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई समेत पक्राउ गरेको हो । भट्टलाई जेठ ९ मा र पुनलाई जेठ ८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बचतकर्ताले एक लाख ऋण निकाल्दा कर्मचारीले आठ–दश लाखसम्म हिनामिना गरेको देखिन्छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘ऋण निकालेका व्यक्तिका नाममा पटक पटक ऋण निकालेर तिर्नै नसक्ने बनाएका छन् ।’ उनका अनुसार पाँचै जनाले हालसम्म ८६ जनाको नाममा ऋण लिएको देखिएको छ । पीडितहरुको निवेदन आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्छ । सुरुमा ७२ लाख हिनामिना र कागजात किर्ते गरेको जाहेरी परेको थियो ।

पक्राउ परेका पाँचै जनामाथि बैंकिंङ कसुरअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी निरीक्षक चन्दले बताए । उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । उनीहरूमाथि किर्तेमा पनि मुद्दा चलाउने विषयमा अनुसन्धानको तयारी भइरहेको चन्दले बताए ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा २०७४ मा स्थापना भएको हो । हाल संस्थाका २ हजारभन्दा बढी बचतकर्ताहरू रहेका छन् । संस्थाका शाखाप्रमुख नीलकण्ठ घिमिरेले संस्थाको बचत तथा ऋणमा केही कैफियत देखिएकाले अनुसन्धान भइरहेको भन्दै यस विषयमा बोल्न चाहेनन् । उनले अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा बोल्न नमिल्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*