राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु व्यवस्थापक विरुद्ध आन्दोलित, मागहरू पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी

काठमाडौं ।विनियमावली विपरीत व्यवस्थापन चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् ।आफना मागहरु पूरा नभएपछि राष्ट्रिय कर्मचारी संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल आन्दोलनमा उत्रिएका छन् ।
आफ्ना मागहरू पूरा नगरे कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । कर्मचारीहरूको सरुवा/बढुवा प्रकृयालाई व्यवस्थित गर्न पारदर्शी मापदण्डहरू तयारी गरी अनुमान योग्य बनाउन संघले माग गरेको छ।बैंक विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका यी संगठनहरुले पहिलो चरणमा कालोपट्टी बाँधी दैनिक काम कारबाही सञ्चालन गरिरहेका छन् भने दोस्रो चरणको कार्यक्रम आजदेखि घोषणा गर्ने भएको छ।विगत लामो समय देखि पेसागत हक हित र संस्थाको सम्वर्द्धनमा युनियनहरू र बैंक व्यवस्थापनबिच संवादबाट समस्याको निराकरण हुँदै आए पनि पछिल्लो समय व्यवस्थापक कर्मचारीको जायज मागहरूमा निर्मम भएर अघि बढिरहेको उनीहरूको आरोप छ।
बैङ्कमा क्रियाशील ट्रेड युनियन र बैंक व्यवस्थापनबिच २०७२ मंसिर १८ गते व्यवस्थापकीय सुधारको सम्बन्धमा १९ बुँदे, प्रशासनिक सुधारको सम्बन्धमा १६ बुँदे, कर्मचारी सेवा विनियममावली सुधारको सम्बन्धमा ११ बुँदे र आर्थिक विषयमा २७ बुँदे गरी कूल ७३ बुँदे माग दाबीमा कर्मचारी र बैंक व्यवस्थापकबिच सहमति भएको थियो ।सम्झौताको ८ वर्ष बितिसक्दा समेत सो कार्यान्वयन नगरेपछि बाध्य भएर आन्दोलनमा होमिन परेको आन्दोलित कर्मचारी लक्ष्मीप्रसाद पाण्डेले बताएका छन्।‘हामीले बैंक व्यवस्थापकसँग पटक पटक राखेको जायज माग पनि बेवास्ता हुने काम भयो, मागको कुनै सुुनुवाई नै भएन । पटक पटक गरी राखिएका ७३ बुँदे माग कार्यान्वयन नभएपछि दबाब स्वरूप आन्दोलनमा नै उभिन परेको हो’ पाण्डेले भने, ‘तर हामीले बैंकको काममा कुनै अवरोध पुुयाएका छैनौं ।’
खास गरी कर्मचारी ट्रेड युनियनहरूले लामो समयसम्म वार्ता भई सहमति भएका विषयहरू करार, पारिश्रमिक, ज्यालादारी, स्थायी कर्मचारीको आर्थिक सेवा सुविधा वृद्धि, व्यवस्थापकीय एवम् प्रशासनिक सुधार र कर्मचारी सेवा विनियमावलीको विषय कार्यान्वयन गर्न बैंक व्यवस्थापन उदासीन भएको उनीहरूको आरोप छ ।कर्मचारी सेवा विनियमावली संशोधन गरी पदपूर्ति प्रकृया अगाडि बढाउनुपर्ने, वृत्ति विकासमा अवरोध भएका कर्मचारीलाई उत्प्रेरित गर्नु्पर्ने, लामो समयदेखि दुर्गममा काम गरिरहेका कर्मचारीलाई विनियमावलीबमोजिम व्यवस्थापन गर्नुपर्ने, दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरूको पुरानो सहमतिबमोजिम कार्यान्वयन तथा व्यवस्थापन गर्नुपर्नेलगायतका मागहरू संघले राखेको छ ।
अपारदर्शी र राजनैतिक पूर्वाग्रह राखी गरिएका सरुवा रद्द गर्नुपर्ने, काजमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, बैंकभित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई चूस्त, दुरुस्त बनाउनुपर्ने, सीएसआर तथा विज्ञापन वापत वितरण गरिएको रकमलाई स्पष्ट मापदण्डबमोजिम पारदर्शी बनाउनुपर्ने र व्यवसाय विस्तारको प्रभावकारी लक्ष्य निर्धारण र वैज्ञानिक तथा व्यवहारिक रणनीति तयार पार्नुपर्ने लगायतका माग पनि व्यवस्थापनसामु राखिएको छ ।