बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्यो, कुन बैंकले कति दिँदैछ ब्याज ?

काठमाडौं । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असार महिनाको लागि स्थिर राखेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बैंकहरुले अघिल्लो महिनाको अन्तिम दिन आगामी महिनाको लागि ब्याजदर सार्वजनिक गर्नुपर्छ । सोही अनुसार बैंकहरुले आज जेठ ३२ गते असारको लागि स्थिर ब्याजदर सार्वजनिक गरेका हुन् । तर, कर्जाको ब्याजर भने बेस रेटका आधारमा केही घटेको छ ।
हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५।४ प्रतिशतदेखि ७।४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७।९९ प्रतिशतदेखि ९।९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघले जनाएको छ
हाल ४.२ प्रतिशतको अधिकतम सीमा रहेको स्प्रेड दर असार मसान्तभित्र ४ प्रतिशतको सीमाभित्र ल्याउन राष्ट्र बैंकको निर्देशन छ । निक्षेपमा बैंकहरूले दिने ब्याजदर र कर्जामा लिने ब्याजको औसत अन्तर नै स्प्रेड दर हो । स्प्रेड दर घटाउन निक्षेपको औसत ब्याजदर यथावत् रहँदा कर्जाको औसत ब्याज घटाउनुपर्छ ।
पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रूपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन हुन थालेको छ । चैत, वैशाख र जेठको औसत आधार दरका आधारमा असारमा कर्जाको ब्याजदर कायम हुनेछ ।
बैंकहरूले गत माघदेखि निक्षेपमा ब्याजदर घटाएपछि आधार दर क्रमिक रूपमा ओरालो लागेको छ । पुस मसान्तसम्म बैंकहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम १२।१३३ तथा संस्थागतमा १०।१३३ प्रतिशतसम्म ब्याज दिँदै आएकामा माघमा घटाएर व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत कायम गरेका थिए । वैशाखदेखि भने वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दतीमा ९।९९ तथा संस्थागत मुद्दतीमा ७।९९ प्रतिशत कायम गरेका हुन् ।
बैंकहरुको नयाँ ब्याजदर
तस्वीरहरु फाइनान्सीयल नोटीस डटकमबाट लिएको