आर्थिक संकटको असरः बैंकबाट कर्जा लिने घट्दै, ऋणको साँवा र ब्याज असुल्न धौ–धौ

रिना खत्री
३ असार २०८०, आईतवार ११:५०

काठमाडौं । आर्थिक वर्षको पहिलो साता चलिरह्दा पनि ऋणीले विगतमै ऋणको साँवा–ब्याज तिरेका छैनन्। चैत मसान्तमा धेरै ऋणीले साँवा–ब्याज नतिर्दा बैंकहरूको निष्क्रिय कर्जा बढेको थियो।असार मसान्तमा पनि ऋणीहरूले बैंकलाई बुझाउनुपर्ने साँवा र सो मा लागेको ब्याज नबुझाउने अवस्था बन्दै गएको बैंकरहरू बताउँछन्। जसको कारण बैंकहरुलाई ऋणको साँवा र ब्याज असुल्न धौ–धौ पर्न थालेको छ ।

खासगरी, नेपाल राष्ट्र बैंकले चालूपुँजी कर्जा मार्गदर्शनलाई कडाईका साथ कार्यान्वयन गरिदिएपछि बैंकहरूले लगानी गरेको ऋणको साँवा र ब्याज असुल्ने बाटो बन्द भएको थियो।बैंकले ऋणीलाई उचालेर चालूपुँजी कर्जालाई सरल नबनाए आर्थिक गतिविधि ठप्प हुने, नयाँ कर्जा दिन नसक्ने अवस्था आउँछ भनिरहेका थिए। तर, राष्ट्र बैंकले चालूपुँजी कर्जाका सन्दर्भमा कुनै सम्झौता नगरेपछि नयाँ कर्जा दिएर पुरानो ऋण उठाउने बैंकको बाटो बन्द भएको थियो।

गत साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले कूल १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड रुपैयाँ थियो।बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म सिडी अनुपात कायम गर्न पाउँछन्। तर, त्यस्तो अनुपात ८४.४० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ।बैंक तथा वित्तीय संस्थासँग करिब ३ खर्ब १८ अर्ब रुपैयाँ लगानी गर्न मिल्ने रकम छ। तर, बैंकले कर्जा प्रवाह गर्न सकेका छैनन्।

एकातिर आर्थिक अवस्था नराम्ररी प्रभावित भइसकेको छ। त्यसैका कारण व्यवसायीको ऋण तिर्न सक्ने क्षमतामा ह्रास आइरहेको छ।बैंक तथा वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याज घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् ।राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ ।वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो ।

चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।सरकारले आगामी वर्ष मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएकाले ब्याजदर घटाउने स्पेस भए–नभएको विषयमा अध्ययन गर्नुपर्ने नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकको व्याजदर घटेपनि कर्जा प्रवाह भने हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ५.७४ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेको छ ।राष्ट्र बैंकका अनुसार असार २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार २८ गते, आइतबारसम्म बैंकहरूको निक्षेप ५५ खर्ब ४५ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४८ खर्ब ९४ अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह भने सुस्त छ । वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४२ खर्ब ९७ अर्ब रूपैयाँमा स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ५३ अर्ब रूपैयाँ छ ।बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) ८४.२७ प्रतिशतबाट घटेर ८४.१९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ६.१३ प्रतिशतबाट ५.७४ प्रतिशतमा झरेको छ ।बैंकको व्याजदर थप बढ्ने हो कि भन्ने त्रासका कारण कर्जा प्रवाहमा समस्या देखिएको छ। अर्कोतिर उद्योग, व्यवसायहरु त्यति राम्रोसँग फस्टाउन नसकेका कारण पनि उद्योगी व्यवसायीहरु ऋण लिएका छैनन् ।

अर्थशास्त्रीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च रहेकाले कर्जा लगानी बढ्न नसकेको बताउँछन् । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले मानिसहरुले विशेषत दुई किसिमको (व्यावसायिक र घरायसी) कर्जा लिने गरेको बताए । ‘अहिले मुलुक आर्थिक मन्दीको अवस्थामा छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा घरायसी कर्जा लिने पक्षमा मानिसहरु छैनन् ।’ खर्च बढाउने पक्षमा मान्छे नरहेको उनको भनाई छ । व्यावसायिक कर्जा लिएर उत्पादन गरिसकेपछि उक्त उत्पादन बिक्री हुन्छ भन्ने सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । अहिले मानिसहरुको क्रय शक्ति घट्दै गएको अवस्थामा उक्त सुनिश्चितता नभएको उनले बताए ।

‘त्यही भएर मानिस उत्पादन तथा व्यवसाय गर्नका लागि कर्जा लिन खासै उत्साहित छैनन’ उनले भने ।‘अहिले कर्जाको उच्च ब्याजदर तिरेर फाइदा गर्छु भन्ने सुनिश्चितताको अनुभूति मानिसले गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘मन्दी छ तर माग छैन । त्यसैले उच्च ब्याजदरका कारण कर्जा विस्तार हुन सकेको छैन ।’

असार मसान्तसम्मा बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १।०१ प्रतिशत विन्दुले घटाएर ९।९९ प्रतिशतमा झारेका थिए।संस्थागत निक्षेपकर्ताको ब्याज दर ७।९९ प्रतिशत छ भने बचतको ब्याज दर ५।४ देखि ७।४ प्रतिशत कायम भएको छ। कल डिपोजिटको ब्याज दर २।७ प्रतिशत छ।

अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। तर पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेका छन्।बैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असर महिनामा कर्जाको ब्याजदर भने घट्ने छ। नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो।

बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले असारदेखि कर्जाको ब्याजदर घट्ने भएको हो। असार अन्तिमसम्ममा बैंकहरुले स्प्रेड दर ४ प्रतिशतमा झार्नु पर्ने भएकोले पनि कर्जाको ब्याजदर घट्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*