घोराही सिमेन्टको आईपिओसम्म आइपुग्दा उदाङ्गियो हमालको अनुहार, शेयर बजार डुब्दै

२२ असार २०८०, शुक्रबार ०७:२५

काठमाडौं । पुँजि बजार जस्तो संवेदनशिल क्षेत्रमा नेपाल धितोपत्र बोर्डले घुसका लागि गरेको अनैतिक धन्दाका कारण अध्यक्ष रमेश हमाल फेरि विवादमा तानिएका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त भएलगत्तै देखि एकाथरी शेयर लगानीकर्ताहरु हमालको फ्यान बनेर उनकै पक्षमा चिच्याउँदै आएका थिए भने अर्काथरीले हमाल भ्रष्टाचारी हुन् भन्दै चर्को विरोध गर्दै आएका थिए । पछिल्लो समय घोराही सिमेन्ट र नागरिक मिडियाको आईपिओसम्म आईपुग्दा हमाल भ्रष्टाचार, अनैतिक र पुँजिवादी ठेकेदारका रुपमा चिनिन पुगेका छन् । र, हमालकै कारण नेपालको पुँजि बजार डुब्ने अवस्थामा पुगेको छ ।

पुँजि बजार स्वतन्त्र, निष्पक्ष मूल्यनिर्धारण प्रक्रिया र विश्वासको आधारमा अघि बढ्ने एउटा कृतिम प्लेटफर्म हो । यो अत्यन्तै संवेदनशील हुन्छ । रमेश हमालले पुँजि बजारको यही संवेदशिलता बुझ्न नसक्दा लगानीकर्ताहरुको खर्बौ रुपैयाँको लगानी बालुवामा पानीमा बगे झै बगेर जाने निश्चित भएको छ । हमालले एउटा राम्रो र ऐतिहासिक काम गरेका छन् । त्यो ब्रोकरहरुको ठेकेदारी प्रथा अन्त्य गरेर नयाँ ब्रोकर लाइसेन्स । यसो किन भनिएको भने आम लगानीकर्ताको संख्या दुई लाखबाट बढेर करिब ५० लाख पुगिसक्दा पनि ब्रोकरहरुको संख्या भने उही थियो । उनले लगानीकर्ताहरुको हितमा ब्रोकरको संख्या दोब्बर बनाउने निर्णय गरे । उही निर्णयका कारण लगानीकर्ताहरु हमालको फ्यान बनेका थिए । तर, हमालले यही निर्णयको काखमा राखेर लगानीकर्ताको सेन्टिमेन्टमा खेलेर अन्तत: डुबाईदिएका छन् ।

नयाँ ब्रोकर लाइसेन्सदेखि घोराही सिमेन्टको आईपिओसम्म आईपुग्दा हमालले नीतिगत भ्रष्टाचारमार्फत रकम हात पार्न आफैले ब्रोकर लाइसेन्स दिएर राहत दिएका लगानीकर्ताहरुको पेटको गास खोसिदिएका छन् । सर्वसाधारणलाई झुक्याएर कम्पनीले आईओि जारी गर्ने अनि त्यस्तो कम्पनीलाई हमालले धमाधम पास गर्दै जाने हो भने अहिलेको अवस्थामा लगानीकर्ता डुब्ने अवस्थामा पुग्नेछन् ।

अप्ठेरो अवस्थाको सामना गरिरहेको घोराही सिमेन्टलाई जुन मूल्यमा उनले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न अनुमति दिए, त्यो नेपालको शेयर बजारकै लागि दुर्भाग्यपूर्ण हुन पुगेको छ ।* नेपाली शेयर बजारमा कालो धब्बा लगाउने काम हमालले गरेका छन् । साथै घोराही सिमेन्ट सम्म आइपुग्दा हमाल लगानीकर्ताको पक्षमा काम गर्ने मानिस होइनन र पुँजिपतिका लागि काम गर्ने मानिस हुन् भन्ने तथ्य स्थापित भएको छ ।

खासमा हमाल वैचारिक रुपमा समस्याग्रस्त मानिस हुन् । लामो समय विदेश बसेका उनले नेपालको लोकतान्त्रिक आन्दोलनको मर्म र भावना बुझेका छैनन् । जसका कारणले उनले बुक बिल्डिङ, प्रिमियम मूल्यमा आइपिओ भनिरहेका छन् । बुक बिल्डिङ र प्रिमियम मूल्यमा आईपिओ जस्ता कुरा पुँजिवादी अर्थतन्त्रमा हुने कुराहरु हुन् । रमेश हमालले नेपालको संविधानको प्रस्तावना समेत राम्रोसँग पढेका छैनन् भन्ने कुरा उनले लिएका निर्णयहरुले देखाएको छ । नेपालको संविधानले समाजवादी अर्थव्यवस्थाको कुरा गर्दछ । समाजवादी अर्थव्यवस्थामा कुनै पनि कम्पनीको शेयर मूल्य प्रिमियम वा बुक बिल्डिङमा हुँदैनन् । पब्लिक कम्पनीमा आज जनताको लगानी बृद्धि गर्ने उद्देश्यले ६० को दशकमा लाइसेन्सिङको क्षेत्रमा प्रिमियममा आईपिओ जारी गर्न बन्द गरिएको थियो । पुँजिवादी अर्थ व्यवस्थामा मात्रै यस्तो हुने गर्दछ । बैचारिक रुपमा नै संविधान विरोधी बिचार भएका व्यक्ति नियामकको केन्द्रमा डाडु पन्यु लिएर बसेपछि जनताले संविधानको भावना अनुसारको सेवा र सुविधा पाउने कुरै भएन ।

हुन त पुँजि बजार आफैले समाजवादी अर्थव्यवस्थाको वकालत गर्दैन । तर, अफर मूल्यमा आम सर्वसाधारणलाई शेयर वितरण गर्नु भनेको जनताले सस्तोमा स्वामित्व पाउनु हो भने प्रिमियम र बुक बिल्डिङमा आईपिओ किन्नु परेमा निकै महंगो हुने गर्दछ । गरिब जनतालाई सस्तोमा शेयर बिक्री गर्ने, बरु गोलाप्रथा गर्ने प्रचलन रहेकोमा अब विस्तारै आईपिओ पनि बढाबढमा बिक्री हुने प्रथाको सरुवात गरेर हमालले नेपाली शेयर बजारलाई गरिबको हातबाट खोसेर पुँजिपति बर्ग र पैसा लिएर भिडन्त गर्ने बर्गको हातमा पुर्याएका छन् ।

अझ रोचक कुरा के छ भने एक पटक रोकिसकेको घोराही सिमेन्टको प्रिमियम मूल्यमा आईपिओ पुन: सुचारु गर्न दिएर हमालले आफू जस्तोसुकै अनैतिक, लगानीकर्तालाई चरम भार पर्ने निर्णय गर्न सक्ने कठोर व्यक्तिको परिचय दिएका छन् । चल्नै कठिन भएको कम्पनीलाई महंगो मूल्यमा आईपिओ बिक्री गर्ने यसअघि नेपालमा नभएको विदेशी नीति भित्राएर संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्र विरोधी कार्य हमालले गरेका छन् । जसले आगामी १० वर्षभन्दा बढि समय नेपाली लगानीकर्ताहरुले मार खेप्नुपर्ने देखिएको छ । निश्चित स्वार्थका लागि लगानीकर्ताहरुको घाँटी रेटेर घोराही सिमेन्टका मालिकहरुको पृष्ठपोषण गर्ने हमालको निर्णय नेपाली शेयर लगानीकर्ताहरुले कैयौं वर्षसम्म भोगिरहनु पर्ने निश्चित छ ।

पछिल्लो पटक हमालले गरेका नागरिक मिडियाको आईपिओ र घोराही सिमेन्टको आईपिओको कारण नेपाल धितोपत्र बोर्डमा कार्यरत कर्मचारीहरुको दक्षता, क्षमतामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । अध्यक्ष रमेश हमालले घुस सेटिङमा गर्ने निर्णयहरुको रबर स्टाम्प बनेका उच्च अधिकारी र कर्मचारीहरु कहिले माथि उठेर लगानीकर्ताको पक्षमा उभिन्छन् ? प्रश्च चिन्ह उठेको छ । राज्यकोषबाट तलब सुुविधा खाने अनि माफियाको पक्षमा काम गर्ने बोर्डका कर्मचारीहरुको पनि शेयर लगानीकर्ताहरुले हिसाब किताब राख्नुपर्ने बेला आएको होइन र ?

*सम्पादन गरिएको ।

2 thoughts on “घोराही सिमेन्टको आईपिओसम्म आइपुग्दा उदाङ्गियो हमालको अनुहार, शेयर बजार डुब्दै

  1. [email protected]राजनीति क लेख नेपाली सबै चाेर हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*