एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा बापत पाँच ग्राहकलाई ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले पाँचजना ग्राहकलाई ५० लाख रुपैयाँको दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो ।
देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, सम्राट खनालको बुबा लक्ष्मण खनाल, आशिष थारुको बुबा दुल्लुराम थारु, चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारीले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त दुर्घटना बापतको बीमा रकम प्राप्त गरेका हुन् ।
यस बैंकको बीमा सहितको निक्षेप योजनाहरू अन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरू लाई ९ करोड ४० लाख भन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भईसकेको बैंकले जनाएको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले उल्लेख गरेको छ ।