तत्कालिन सेन्चुरी बैंकले अन्ततः बिनाधितो एक करोड कर्जा प्रवाह गरेको पुष्टि, सिआईबीमा ढिसमिस भएको फाइल फेरि खुल्ला ?

२७ असार २०८०, बुधबार ००:३०

काठमाडौं । गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा संलग्न तत्कालिन सेन्चुरी कमर्शियल बैंक हालको प्रभु बैंकले एक करोड रुपैयाँ कर्जा बिनाधितो प्रवाह गरी सर्वसाधारणको बचत जोखिममा पारेको पुष्टि भएको छ ।

तत्कालिन सेन्चुरी बैंकले २०७५ साल पुस २९ गते एक हाउजिङ कम्पनीसँग मिलेर घर खरिद गर्न चाहने ऋणीको नाममा प्रवाह गरेको कर्जा बिनाधितो प्रवाह गरी बैंकबाटै बैंकिङ कसुरजन्य कार्य सम्पन्न भएको पुष्टि भएको छ । बीमापोष्टलाई प्राप्त एक कागजातमा तत्कालिन सेन्चुरी बैंकले बैंकिङ कसुर ठहर्ने गरी त्रिपक्षिय सम्झौता गरेको, ललितपुर इमाडोल वडा नं ८ कित्ता नं ५२३ नम्बरको जग्गा र सोमा बसेको घर सिटिजन्स बैंकमा धितो बन्धक हुँदा हुँदै बैंकिङ कसुर सजाय ऐनको दफा ७ को उपदाफा (ङ) विपरित हुने गरी कर्जा प्रवाह गरेको, त्रिपक्षिय करार सम्झौता बमोजिम घर जग्गा खरिदकर्ताले सम्झौता बमोजिमको रकम भुक्तानी गरिसक्दा पनि हाउजिङ कम्पनीबाट आपसी मिलेमतोमा पाँच वर्षसम्म प्रवाह भएको कर्जाको अनुगमन गराई घरजग्गा खरिदकर्ताको नाममा नामसारी गराई धितोबन्धक लिन नसकेको जस्ता फौजदारी अपराध बैंकबाट भएको देखिएको छ ।

तत्कालिन सेन्चुरी बैंक, हाउजिङ कम्पनी र घर खरिदकर्ताबीचमा सम्पन्न भएको करारभन्दा विपरित ऋणीसँग पटक पटक पत्राचार गरी तीन करोड २३ लाख रुपैयाँ कूल रकम भुक्तानी गरी घर नामसारी लिन हाउजिङ कम्पनीसँग मिलेर अनुचित दवाव दिएको जस्ता कारणहरुबाट तत्कालिन सेन्चुरी बैंकबाट भएको गैर कानुनी त्रिपक्षिय सम्झौतामा आधारित ऋण काण्ड अब उत्कर्षतिर पुगेको देखिएको छ ।

यतिबेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बालुवाटारस्थित १४३ रोपनी जग्गा कब्जा गर्ने घोटाला काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड छानविन गरेर चर्चामा छन् । पछिल्लो पटक बैंकिङ कसुरका मुद्दामाथि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले तीव्र चासोपूर्वक हेरिरहेको छ । राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको तत्कालिन सेन्चुरी बैंकबाट दिन दहाडै ठगी, कीर्ते, बैंकिङ कसुरजन्य घटनाको सम्बन्धमा हालसम्म कुनै निकायबाट पनि छानविन भएको छैन ।

पब्लिक इन्नोभेटर दीपेन्द्र कँडेलले आफूलाई प्राप्त पछिल्लो कागजातमा तत्कालिन सेन्चुरी बैंककै कारण घर खरिदकर्ता ऋणीले ठूलो अन्याय भोग्नुपरेको बताउँछन् । तत्कालिन सिईओ तुलसी गौतमको पालामा भएको तत्कालिन सेन्चुरी बैंकको एक करोड कीर्ते ऋण प्रवाह काण्ड पछिल्लो पटक भित्रभित्रै झिसमिस पार्न एउटा ठूलो गिरोह सक्रिय भएर लागि परेको सूचना प्राप्त भएको छ । वाईडबडी काण्डदेखि विभिन्न अन्य घोटाला काण्ड र भ्रष्टाचार अनि बेथितीका विरुद्धमा आवाज उठाउँदै आएका ई. दीपेन्द्र कँडेलले न्यायका लागि जस्तोसुकै लडाई लड्ने बताउँदै आएका छन् ।

सो कीर्ते, ठगी घटनाको सम्बन्धमा सुरुदेखि नै तत्कालिन सेन्चुरी बैंकले बिनाधितो कर्जा प्रवाह गरी योजनाबद्ध तरिकाले ऋणीलाई फसाउने कार्य गरेकोले तत्कालिन समयमा बैंकमा कार्यरत कर्मचारीहरुलाई कुनै हालतमा कानुनी दायरामा ल्याउने प्रतिबद्धता ई. दिपेन्द्र कँडेलले बताए । तत्कालिन सेन्चुरी बैंक हाल मर्ज भई प्रभु बैंक बनिसकेको छ । सेन्चुरी बैंकमा हुँदा त्यहाँ कर्मचारीहरुले झुक्याएर ऋणीमाथि लगातार अन्याय गर्दै आएका थिए भने मर्ज भई बनेको प्रभु बैंकका हालका कर्मचारीहरुले समेत उक्त काण्ड भित्रभित्रै मिलाउन ऋण असुली विभागका कर्मचारीहरु लागि परेको बुझिन आएको छ ।

सो घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अनभिज्ञ भने छैन । सिआईबीका तत्कालिन प्रमुख धिरज प्रताप सिंहलाई एक प्रति फाइल बुझाइएको भएपनि लगत्तै उनी आईजिपी भएको र सो काण्डमा केही बिचौलियाले सेटिङ गर्न भ्याएकोले रोकिएको छानविन अहिलेकी निर्भिक र ललिता निवास काण्डको छानविन गरिरहेकी एआईजी किरण बज्राचार्यले अघि बढाउँलिन ? दिन दहाडै तत्कालिन सेन्चुरी बैंकबाट भएको बैंकिङ कसुर सम्बन्धी अपराधका दोषीहरु कठघरामा उभिएलान ? आम चासोको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*