गृहमन्त्रीको चेतावनीपछि बैंकर्स संघ सिण्डिकेट तोड्न तयार भएकै हो ?

२८ असार २०८०, बिहीबार ०७:५१

काठमाडौं । गत साता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले नेपालका सबै बैंकका सिईओहरुलाई निवासमा बोलाएर रात्री भोज खुवाए । उक्त भोजमा भएको छलफलको विषयको एउटा पक्ष बाहिर आए पनि अर्को एउटा पक्ष बाहिर आउन बाँकी थियो । उक्त रात्री भोजको अर्को विषय अब बहस भन्दा पनि नतिजामा बाहिर आउने निश्चित जस्तै भएको छ ।

नेपाली बैंकरहरुले छाता संगठनमार्फत ब्याजदरमा सिण्डिकेट लगाउँदै नेपाली ग्राहकहरुलाई ठगी गर्दै आएका थिए । विश्वमा यस्तो अभ्यास बिरलै हुने गर्दछ । तर, नेपालमा बैंकका लगानीकर्ताहरुको दवावमा बैंकर्स संघले सबै बैंकहरु मिलेर समान ब्याजदर लागू गर्दै सिण्डिकेट चलाउँदै आएका थिए । नेपालको प्रचलित कानुन अनुसार कुनै पनि कुराको सिण्डिकेट लागू गर्न नपाउने व्यवस्था छ । सिण्डिकेट लागू गरेको खण्डमा सजायको भागीदार पनि हुनुपर्दछ ।

तर, आफूलाई ‘भाले बैंकर’ (सहचालकको भाषामा) बताउनेहरुले लामो समयदेखि सिण्डिकेट लागू गरेर ग्राहकहरुलाई वर्षौदेखि ठगी गर्दै आएका थिए । गत साताको गृहमन्त्रीसँगको भेटवार्ता, रात्रीभोज र गरमागरम संवादपछि अन्ततः बैंकर्स संघ उक्त अपराधिक कार्य अर्थात सिण्डिकेटबाट पछाडि हट्ने भएको छ । गृहमन्त्रीले के भने जस्तो बैंकर्स संघ भद्र सहमति नगर्ने अर्को भद्र सहमति गर्न बाध्य भयो ? खुल्न सकेको छैन । एक बैंकका सिईओले भने, ‘सरकारबाट केही न केही कुरा आएकै हो, सम्भवतः अब यस्तो अभ्यास अन्त्य हुनेछ ।’

एकाएक बैंकर्स संघ किन ब्याजदरको सिण्डिकेट हटाउन तयार भए त ? यस विषयमा कसैले बाहिर बोलेका छैनन् । स्रोतका अनुसार गृहमन्त्रीसँगको डिनर मिटिङमा बैंकर्स संघलाई ब्याजदरमाथिको सिण्डिकेटको मूल्य निकै महंगो पर्ने विषयमा भएको छलफल नै मुख्य कारण हो । सिण्डिकेट हटाएसँगै अब ब्याजदर निकै सस्तो हुने विश्वास गरिएको छ ।
बैंकर्स संघको नाममा सबै बैंकहरु मिलेर चलाएको सिण्डिकेट बास्तवमै ग्राहकहरुको लागि निकै घातक साबित हुने अहिलेको तथ्यले समेत औल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत समेत बैंकहरुले चलाएको सिण्डिकेटको पक्षमा छैनन् । नेपाल राष्ट्र बैंक पनि बैंकहरुले चलाएको सिण्डिकेटको पक्षमा छैन । तर, बैंकर्स संघको नाममा भद्र सहमति भन्दै ‘नाम कोड नगर्ने’ शर्तमा ब्याजदुर बढेको र घटेको समाचार बाहिर पठाउने गर्दै आएका थिए ।

प्रत्येक महिनाको अन्त्यमा बैंकर्स संघको बैठक बस्ने, लिखित सहमति केही नगर्ने, भद्र सहमति गर्ने, बाहिर समाचार सोही बमोजिमको लेखाउने र भोलिपल्ट बैंकमा गएर सोही कुरा हुबहु कार्यान्वयन गर्दै आएका थिए । बैंकर्स संघको नाममा भइरहेको अपराध, कुकृत्यका बारेमा सरकार एक ठाउँमा उभिएसँगै अब बैंकर्स संघको यस्तो फण्डाको अन्त्य हुने भएको हो ।

बैंकर्स संघको आज वा भोलि बस्ने बैठकले सिण्डिकेट हटाएर ब्याजदर घटाउन बैंकहरु आफै स्वतन्त्र हुने निणर्य पनि ‘भद्र सहमति’ कै आधारमा गर्छन कि लिखित रुपमा माइन्यूटमा त्यो भने हेर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*