ग्लोबल आइएमई बैंकबाट ठगिएका किसानद्धारा राष्ट्र बैंकमा उजुरी, स्थलगत सुपरिवेक्षण पन्छाउन खोज्दै राष्ट्र बैंक

२८ असार २०८०, बिहीबार ०८:३३

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट सहुलियतपूर्ण कृषि कर्जा लिई ब्याजदरमा ठगिएका पीडित किसानहरुले राष्ट्र बैंकमा उजुरी दिएका छन् ।

नवलपरासीस्थित एग्रोटेक नामक कम्पनीले बजेट बक्तव्यमा उल्लेख भएको र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा स्पष्ट रुपमा समावेश भएको सहुलियतपूर्ण कृषि उद्यम कर्जामा अनुदानको ब्याज सरकारसँग लिनुपर्नेमा लिँदै आएको छ । ग्लोबल आइएमई बैंकको उक्त ठगी कार्यको छानविन गर्न नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ ।

यही असार २७ गते दर्ता भएको उजुरीमा ग्लोबल आइएमई बैंकले सरकारले दिएको सहुलियतपूर्ण कृषि उद्यमको कर्जा लिने सम्झौता गरी ऋण लिएको तर सरकारले दिने भनेको पाँच प्रतिशत अनुदानको ब्याज रकम किसानसँगै असुली गरेकोले कारवाही गर्न माग गरिएको छ ।

उता, नेपाल राष्ट्र बैंकले भने ग्लोबल आइएमई बैंकको कृषि उद्यम कर्जामा भएको अनियमितता काण्ड छानविन गर्न आनाकानी गर्न खोजेको पाइएको छ । राष्ट्र बैंकको गुनासो ईकाईमा सो विषय दर्ता भई छलफल भएपनि हिजोको छलफलमा स्थलगत सुपरिवेक्षण गर्ने विषयमा कुनै निणर्य गरिएको छैन । राष्ट्र बैंक स्रोतका अनुसार उच्च नेतृत्वले पीडित र बैंकबीचको विवाद हल गर्ने प्रयास गर्ने तयारी भइरहेको छ ।

राष्ट्र बैंकले सरकारी अनुदान बापतको रकम किसानसँग असुल उपर गर्ने बैंकमाथि तत्कालै स्थलगत सुपरिवेक्षणमा टोली पठाउनु पर्नेमा त्यसो गरेको छैन । राष्ट्र बैंकबाट अवकास पाएपछि यिनै ठूला बैंकमा गएर जागिर खान पल्केका राष्ट्र बैंकका तल्ला तहका कर्मचारीदेखि कार्यकारी निर्देशकहरुले बैंकहरुको त्रुटी, गल्ती र अपराधलाई ढोकछोप गर्ने प्रयास गर्ने गरेका छन् । ग्लोबल आइएमई बैंकका सिईओ रत्नराज बज्राचार्य विगतमा नेपाल राष्ट्रकै कार्यकारी निर्देशक थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*