अर्थसमितिमा आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र राष्ट्रबैंकका पदाधिकारीसँग आज छलफल

प्रतिनिधिसभाको अर्थसमितिले आगामी मौद्रिक नीतिबारे राष्ट्रबैंकका पदाधिकारीसँग आज छलफल गर्दैछ । बजेटले निर्धारण गरेका लक्ष्य र मौद्रिक नीतिबीचको प्रभावबारी समन्वय तथा वित्तीय स्थायीत्वका लागि आगामी योजनाबारे अर्थसमितिले राष्ट्रबैंकका पदाधिकारीसँग छलफल गर्न लागेको हो ।यसअघी बोलाईएको बैठक प्रधानमन्त्री पुष्प कमल दाहालकी धर्मपत्नी सीताको निधनका कारण अन्तिम समयमा स्थगित भएको थियो ।
सिंहदरवारमा विहान ११ बजे पछि बस्ने बैठकमा गर्भनर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ अधिकारीलाई बोलाईएको अर्थसमितिले जनाएको छ । बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्धेश्यबारे छलफल हुनेछ ।
मुलुकको अर्थतन्त्र आन्तरिकतर्फ जोखिमकै अवस्थामा रहेका बेला अर्थसमितिले वित्तीय स्थायीत्व, मौद्रिक प्रोत्साहन र नीतिगत उपकरणहरुबारे छलफल गर्ने कार्यसूची तय गरेको हो । केन्द्रीय बैंकले ल्याउन लागेको मौद्रिक नीतिबारे राष्ट्रबैंकका अधिकारीहरुसँग छलफल हुने अर्थसमितिले जनाएको छ।
मुलुकको आर्थिक अवस्था, आगामी बजेटको कार्यन्वयन, विकास योजना लगायतका विषयमा अर्थमन्त्रालयसँग पनि छलफल गरिने श्रेष्ठले बताउनुभयो ।