मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गनुपर्ने, नगरे राष्ट्र बैंकमा गुनासो गर्न सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० लाख रुपैयाँ सम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस प्रकारको कर्जा दिन कसैले आनाकानी गरेमा गुनासो टिपाउन पनि आग्रह गरेको छ ।
राष्ट्र बैंकले आज एक सूचना प्रकाशन गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उदेश्यले सात दिन भित्र कर्जा प्रवाह गर्न भनेको हो । बैंककले खाद्यान उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंंक तथा वित्तीय संस्थाले धितो स्वीकार गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आम वास्तविक किसानहरुलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न आग्रह गरेको छ ।
कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यका लागि यस प्रकारको कर्जा सुविधाको व्यवस्था गरिएको सूचनामा उल्लेख छ । ‘यस निर्देशनको पालना नभएको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ’, सूचनामा उल्लेख छ ।