सिटिजन्स बैंकको खुद नाफा १०.४१ प्रतिशतले वृद्धि, ईपीएस कति ?

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले खुद नाफा बढेको देखिएको हो ।
बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफा आर्जन १०.४१ प्रतिशतले बढाएर असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढाएर ५ अर्ब ८५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले बढेर ६ अर्ब ९३ करोड रुपैयाँ र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको थियो । हाल बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।
समिक्षा अवधिमा बैकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ । बैंकले सो अवधिसम्ममा १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको प्रकाशित विवरणले देखाएको छ ।