कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र ईपीएस कति ?

१८ श्रावण २०८०, बिहीबार ०९:०६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा २६.९३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५९ करोड रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, सञ्चालन खर्च तथा गैर सञ्चालन खर्च बढेपनि बैंकको नाफा घट्न पुगेको हो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशत बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । खुद फि तथा कमिशन आम्दानी १२.९२ प्रतिशत घटेर २४ करोड ५४ लाख रुपैयाँमा सीमित रहेको प्रकाशित विवरणले देखाएको छ ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४.५५ प्रतिशत र सञ्चालन मुनाफा २०.०५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.३१ प्रतिशतबाट २.९८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५० करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ ।

बैंकको खुद नाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशत बढेको छ भने कर्जा लगानी ३.६६ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*