हिमालयन बैंकको खुद नाफामा ३७ प्रतिशतले बृद्धि, ब्याज आम्दानी र ईपीएस कति ?

२१ श्रावण २०८०, आईतवार ०७:०८

काठमाडौं । हिमालयन बैंक लिमिटेडको खुद नाफामा सामान्य सुधार देखिएको छ । बैंकले आज प्रकाशित गरेको चौंथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेर ९ अर्ब ९३ करोड रुपैयाँ पुुगेको छ । त्यस्तै, यस अवधिमा बैंककोे खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेर ९६ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७५.६८ प्रतिशत बढेको छ भने बैंकले संचालन मुनाफाबाट ५ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको खुद नाफा बढेतापनि प्रतिशेयर आम्दानीमा चाँही गिरावट आएको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर १५ रुपैयाँ ८ पैसामा सीमित रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।

असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । हाल बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड रुपैयाँ सन्चित रहेको छ । यस अवधिमा बैंकको निक्षेप ६३.४७ प्रतिशत बढेर २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कर्जा लगानी ५६.४२ प्रतिशत बढेर २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*