कुमारी बैंकको नाफा र ईपीएसमा सामान्य गिरावट, अन्य सूचक कस्ता ?

२१ श्रावण २०८०, आईतवार ०७:३२

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित गरेको विवरण अनुुसार बैंकको खुद नाफामा समान्य गिरावट आएको देखिएको छ ।

सक्षिक्षा अवधिमा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद फि र कमिशन आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढाएर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ कमाउन सफल भएको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

बैंकको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेरमेन्ट चार्जमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ छुट्याउँदा बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको प्रकाशित विवरणले देखाएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफामा पनि गिरावट आएको छ । यस अवधिमा बैंकको यस्तो मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

बैंकको हाल २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब बढी रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*