स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र लाभांश क्षमतामा उल्लेख्य प्रगति, ईपीएस कति ?

२१ श्रावण २०८०, आईतवार ०८:२२

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटडले खुद नाफा तथा लाभांशको क्षमता बढाएको छ । बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । जसअनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशतले बढेर ५ अर्ब ९५ करोड रुपैयाँँँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको प्रकाशित विवरणले देखाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ ।

बैंकको चुक्ता पूँजी हाल ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*