मुनाफामा रहेको र १५ प्रतिशत लाभांश घोषणा गरेको समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँ मात्रै, दोस्रो बजारमा चलखेलको आशंका

२१ भाद्र २०८०, बिहीबार ११:५५

काठमाडौं । मुनाफामा रहेको र १५ प्रतिशत लाभांश घोषणा गरेको समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँमा कायम भएको छ । शेयरमूल्य बढ्न नसकेपछि दोस्रो बजारमा चलखेलको गरेको आशंका बढेको छ ।

कम्पनीको शेयर मुल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ७४ रुपैयाँ कायम भएको छ । शेयरमूल्य घटेसँगै आईपीओ खरिद गरेका लगानीकर्ता यतिबेला २६ रुपैयाँ घाटामा परेका छन् । पहिलो कारोबारको लागि नेप्सेले अंकित मूल्यभन्दा कम खुला मूल्य तोकेको थियो भने कम्पनीको पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो ।

कम्पनीले २०७७ साल भदौको ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा जारी गरेको आईपीओ एक साताभित्र बाँडफाँड गरेको थियो । कम्पनीको आईपीओ ८ हजार ७० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । आईपीओ बाँडफाँड भएपछि २०७७ असोज ८ गते शेयर कारोबार स्वस्तिक लघुवित्त संस्थासँगको मर्जर प्रयोजनका लागि रोक्का गरिएको थियो । कम्पनीको समयमै मर्जर प्रक्रिया पुरा नहँुदा लामो समयसम्म शेयर कारोबार रोक्का गरिएको थियो ।

कम्पनीको अन्तिम मर्जर प्रक्रिया बिथोलिएपछि नेपाल राष्ट्र बैंकले कम्पनीका आधारभुत शेयरधनी बाहेकको शेयर कारोबार गत असार ३१ गते फुकुवा गरिदिएको थियो । शेयर कारोबार रोक्का भइरहेकै अवस्थामा आव २०७८।७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव अघि सारेको थियो ।

प्रस्तावित लाभांश कम्पनीले साउन ३१ गते सम्पन्न भएको साधारणसभाबाट पारित पनि गरिसकेको छ भने बोनस शेयर प्रयोजनका लागि कम्पनीको मुल्य समायोजन समेत भइसकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन २१ देखि ३१ गतेसम्म बुक क्लोज गरेको थियो ।

नेप्सेले कम्पनीको बुक क्लोज भन्दा अघिल्लो कारोबारको दिनको शेयर मूल्य ७४ रुपैयाँ ९० पैसालाई आधारमा मूल्य समायोजन गरेर १४.२५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता ६५ रुपैयाँ ५६ पैसा तोकेको थियो । तर समायोजनको मुल्यको तुलनामा पछिल्लो कारोबार दिन कम्पनीको शेयरमूल्य बढेको हो । कम्पनीको वित्तीय अवस्थालाई हेर्दा गत वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही समयमा कम्पनीले ६८ लाख रुपैयाँमाथि खुद नाफा आर्जन गरेको थियो ।

२२ करोड ३५ लाख रुपैयाँभन्दा बढी सापटी रकम लिएको यस कम्पनीले गत वर्षमा ५ करोड ७८ लाख रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ भने १४ करोड ४६ लाखभन्दा बढी निक्षेप संकलन समेत गरेको छ । त्यस्तै, ३९ करोड ९९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ३१ पैसा रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९१ पैसा रहेको छ ।

समाज लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार भएदेखि कम्पनीको शेयरमुल्य प्रतिकित्ता ८० रुपैयाँ मुनि नै शेयर कारोबार भईरहेको छ । कम्पनीको वित्तीय अवस्था र अन्य सूचांकहरुपनि सुधार हुँदा कम्पनीको शेयरमूल्य भने बढ्न सकेको छै्रन । कम्पनीको शेयरमूल्य दोस्रो बजारमा ठूलो दाउमा चलखेल गर्ने संकेत देखिएको साना लगानीकर्ताहरु बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*