राष्ट्र बैंकले कारवाही गर्ने तयारी गरेपछि प्राइम बैंकले घटायो ब्याजदर

१ आश्विन २०८०, सोमबार १३:१०

काठमाडौं । आज असोज १ गतेदेखि लागू हुने गरी हिजो आइतबार सार्वजनिक भए अनुसार सबैभन्दा उच्च ब्याजदर निर्धारण गरेको प्राइम बैंकले रातारात उक्त निर्णय सच्याएर ब्याजदर घटाउने निर्णय गरेको छ । नियामक नेपाल राष्ट्र बैंकले उक्त बैंकमाथि कारवाही गर्ने तयारी गरेपछि २४ घण्टाभित्रैमा हिजो प्रकाशित ब्याजदर संशोधन गर्दै सच्याएको हो ।

राष्ट्र स्रोतका अनुसार प्राइम बैंकले अन्य सबै बैंकहरुलाई उछिनेर सबैभन्दा बढि ब्याजदिने निर्णय गरेको थियो । सो निर्णयमाथि नियामक नेपाल राष्ट्र बैंकले कारवाही गर्ने तयारी गरेको थियो । लगत्तै बैंकले ब्याजदर घटाएको हो ।
निर्देशन अनुसार क बर्गका बैंकहरुले प्रकाशित गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा बढि ब्याज बढाउन नमिल्ने अवस्थामा प्राइम बैंकले सो निर्देेशन उल्लघन गरी ब्याजदर सार्वजनिक गरेको थियो । बैंकले मुद्दति निक्षेपमा ब्याजदर बढाए पनि बचत खातामा भने नियम विपरित ब्याजदर बढाएको थियो ।

बैंकले सच्याएको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेको छ । सो बैंकमा कूल १४ प्रकारका बचत खाताहरु रहेको जनाइएको छ । हिजो सार्वजनिक ब्याजदरमा व्यक्तिगत तर्फको निक्षेपमा ११.३८ प्रतिशतसम्म तोकिएको थियो ।

उता, नेपाल बैंकर्स संघ समेत प्राइम बैंकको निर्णयप्रति असन्तुष्ट बनेको छ । चौतर्फी आलोचना र नियामकको कारवाही खानुपर्ने भएपछि प्राइम बैंकले रातारात ब्याजदर परिवर्तन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*