नेपालमा सबभन्दा धेरै वैदेशिक लगानी भारतबाट, ‘बैङ्क र बीमा क्षेत्रमा २५ प्रतिशत’

२४ आश्विन २०८०, बुधबार ११:२२

काठमाडौं । नेपालमा सबै भन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) छिमेकी मुलुकबाटै भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालमा ५७ देशबाट वैदेशिक लगानी भित्रिएकामा सबै भन्दा धेरै दक्षिणी छिमेकी भारतबाट भित्रिएको छ ।

५७ देशबाट कुल दुई खर्ब ६४ अर्ब लगानी भित्रिदा भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ५९ करोड लगानी आएको छ । दोस्रोमा उत्तरी छिमेकी चीनबाट ३३ अर्ब ४५ करोड वैदेशिक लगानी आएको तथ्याङक छ ।

त्यसपछि आयरल्याण्डबाट २० अर्ब ९० करोड र सिंगापुरबाट २६ अर्ब सात करोड तथा सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
२०७८/०७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित मध्ये कुल २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङक तथा अन्य विवरणको आधारमा राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार पारेको हो ।

जस अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६४ अर्ब ३३ करोड पुगेको छ ।

जम्मा वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ । नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक र ३७.३ प्रतिशत सेवा क्षेत्रमा परिचालित भएको देखिन्छ ।

औद्योगिकतिर ३२.८ जलविद्युत र २९.५ प्रतिशत उत्पादन क्षेत्रमा वैदेशिक लगानी रहेको छ । र, जम्मा एफडीआईको २५.६ प्रतिशत बैङ्क वित्तीय संस्था र बीमा कम्पनीहरुमा रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*