कारोबार खस्किँदै गएको एनसेलमा नेपाली बैंकहरुको २० अर्ब डुब्ने खतरा

२५ आश्विन २०८०, बिहीबार १४:०७

काठमाडौं । विग्रँदो कारोबारले वित्तीय संकटउन्मुख दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा लगानी गरेका बैंकहरुको करिब २० अर्ब रुपैयाँ धरापमा छ । नेपालमा सञ्चालित बैंकहरुले मलेसियन आजियाटा समूहको ८० प्रतिशत लगानी रहेको दूर सञ्चार सेवा प्रदायक एनसेललाई आर्थिक वर्ष २०७८ /०७९ को मसान्तसम्ममा नेपाली बैंकहरुले कूल २० अर्ब ६७ करोड ५६ लाख ३७ हजार ८३१ रुपैयाँ कर्जा दिएको देखिन्छ ।

एनसेलले नेपालमा रहेका करिब आधा दर्जन बैंकबाट बिनाधितो २० अर्बभन्दा बढी ऋण लिएको पाइएको छ । गत आर्थिक वर्षमा पनि एनसेलले करिब दुई अर्ब ऋण थप लिएको बुझिएको छ । सञ्चालन अनुमतिपत्रको अवधि सकिनै लागेका बेला एनसेलले ऋणको मात्रा बढाउँदै गएको छ । जसले नेपाली बैंकहरुको २० अर्बभन्दा बढी रकम फस्ने जोखिम बढेर गएको छ ।

केही वाणिज्य बैंकले एनसेललाई बिनाधितो ऋण दिएको थाहा हुन आएको छ । अधिकांश बैंकहरुले उपकरण खरिदको बिल आदिलाई विश्वास गरेर ऋण दिएको समेत खुल्न आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुनै पनि दूरसञ्चार उपकरण महिनादिन बन्द भए त्यसको मूल्य (वर्थ) लगभग शून्य बराबर ठहर्छ । त्यसका लागि हालसालै बन्द भएको स्मार्ट सेलको उदाहरण पर्याप्त छ । स्मार्ट सेलको बन्द भएका सबै उपकरण काम नलाग्ने अवस्थामा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

स्मार्ट सेलकै हालत भए लेखापरीक्षणमा देखाइएको करिब २० अर्बको उपकरणको वर्थ (मूल्य) लगभग शुन्य हुनेछ । सोही कारण एनसेलमा लगानी गरेका बैंकहरुको अर्बौको लगानी जोखिममा रहेको बताइन्छ ।

एनसेलले करेन्ट कन्सोर्टियम टर्म लोन तीन अर्ब १० करोड रुपैयाँ लिएका छ । त्यस्तै, चालु पूँजी कर्जा बापत दुई अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । त्यस्तै, नन करेन्ट कन्सोर्टियम टर्म लोन १५ अर्ब २२ करोड ५० लाख रुपैयाँ बैंकहरुबाट २०७९ असार मसान्तसम्म ऋण लिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

अझ रोचक त के छ भने एनसेलको लाइसेन्स अवधिभन्दा बढी समयको ऋण नै एक अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको लेखापरीक्षण प्रतिवेदनबाट थाहा हुन आएको छ । जम्मा १० करोड चुक्ता पूँजी भएको एनसेलसँग १५ अर्ब ९५ करोड ४० लाख ९२ हजार ९१९ रुपैयाँ मात्रै नगद वा नगदमा रुपान्तरण हुनसक्ने वस्तुहरु मौज्दात रहेका बताइन्छ । राज्यलाई तिर्नुपर्ने ठूलो कर, अन्य कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने २६ अर्ब दायित्व र बैंकको ऋण समेत एनसेलले ४६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने कूल दायित्व लेखा परीक्षण प्रतिवेदनमा देखिएको छ ।

खस्कँदो कारोबार
एनसेलको व्यापार अघिल्लो वर्ष भन्दा खस्किएको छ । सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको छ । अघिल्लो वर्ष २०२१/२२ मा ३९ अर्ब ७२ करोड रुपैयाँको व्यापार गरेको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले जारी गरेको प्रतिवेदन अनुसार एनसेलको बजार हिस्सा २०२२/२३ मा ५४ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनसेलको बजार हिस्सा ६१ प्रतिशत थियो । दूरसंचार कम्पनीबीचको प्रतिस्पर्धाका कारण एनसेलको प्रतिग्राहक औषत आम्दानीसमेत घटेको इक्राको रेटिङ विवरणमा उल्लेख छ ।

एनसेलको भ्वाइस डेटा प्रयोग र त्यसको बजार हिस्सा बढेको खण्डमा मात्रै प्रतिग्राहक औषत आम्दानी बढ्ने नभए त्यो लथालिङ्ग हुने प्रक्षेपण गरिएको छ । एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व मलेसियन आजियाटा समूह र बाँकी २० प्रतिशत नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिसँग छ । तर, तीन वर्षअघि एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ ।

One thought on “कारोबार खस्किँदै गएको एनसेलमा नेपाली बैंकहरुको २० अर्ब डुब्ने खतरा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*