माथिल्लो अरुणलाई विश्व बैंकले १ खर्ब ३० अर्ब ऋण दिने

२८ आश्विन २०८०, आईतवार १८:३२

काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्वको जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा छलफल गर्न आगामी हप्ता नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल वासिङटन पुग्दैछ ।

सहुलियतपूर्ण ॠण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायताको २१औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक देखिएको छ ।

विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा आज अर्थमन्त्री डा.महतले यो प्रस्ताव राखेका हुन् ।

मन्त्री डा. महतले उपाध्यक्षद्वयसँग गरेको छलफलमा हाल चालु परियोजनाको प्रगति समीक्षा समेत भएको हो । गत वर्ष ९ दशमलब २ प्रतिशतमात्र वितरण भएकोमा कर्जालाई बढाउन पूर्व तयारीमा ध्यान दिनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए ।

साइट क्लियरेन्स तथा ठेक्का बन्दोबस्ततर्फ क्षमता अभिवृद्धि र धेरै क्षेत्रमा छरिएका आयोजनालाई दुई चारवटा प्राथमिकताका क्षेत्रमा मात्र खर्च गर्ने गरी स्पिलओभर प्रभाव बढाउने विषयमा छलफल भएको हो ।

यस्तै, ३०० मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैया बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षको सहमति भएको छ । यस अन्तर्गत सार्वजनिक वित्त वित्तीय क्षेत्र र हरित उत्थानशील तथा समावेशी विकास ग्रिड का क्षेत्रमा नीतिगत सुधारका कार्यहरु अगाडि बढाइने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*