१८.७० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

२९ आश्विन २०८०, सोमबार ११:३४

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । मंगलबार (असोज ३० गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः माघ २ गते, २०८१ जेठ ४ गते र २०८१ असोज २९ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*