विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्दै, ‘डबल ए प्लस’ रेटिङ पाएपछि कुलमान मख्ख

२९ आश्विन २०८०, सोमबार १३:३६

काठमाडौं । यो वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ खोल्ने तयारी गरेको छ । इक्रा नेपाल लिमिटेडले विद्युत प्राधिकरणलाई ‘डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । गत वर्ष पनि प्राधिकरणले ‘डबल ए प्लस’ रेटिङ नै पाएको थियो ।

डबल ए प्लस रेटिङ प्राप्त भन्नुको अर्थ प्राधिकरणले आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित गर्नु हो । यस्तो रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ऋण भुक्तानी जोखिम समेत निकै न्यून हुने गर्दछ । इक्राले प्राधिकरणको वित्तिय अवस्था, सम्पति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरु लगायत विश्लेषण गरेर क्रेडिट रेटिङ तय गरेको बताइएको छ ।

सरकारले विद्युत् विकासका कार्यक्रमहरु कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, शेयर लगानी र अन्य आवश्यक रकम प्राधिकरणलाई सहयोग गरिरहेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायहरुमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व वहन गर्न सक्ने उच्चतहको क्षमता सुरक्षित देखिएको बताएका छन् ।

वित्तीय दायित्व वहन गर्ने उच्च क्षमता प्रदर्शीत गरेकै कारण प्राधिकरणले सर्वसाधारणमा संस्थाको शेयर जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । प्राधिकरणको चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर सर्वसाधारणका लागि निष्कासन गर्न प्रस्ताव गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए ।

प्राधिकरणको शेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गरिने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी शेयर निष्कासनको प्रस्ताव गरिएको छ । प्रबन्ध निर्देशक घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ शेयर निष्कासनको प्रक्रिया अघि बढाइने बताए ।

इक्रा नेपालले सरकारको पूर्ण स्वामित्वमा रहेको प्राधिकरण विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद विक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत उत्पादन क्षमता भएको संस्था भएको उल्लेख गरेको छ ।

प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धताले प्राधिकरणको अल्पकालीन नगद प्रवाह पेचिलो हुनसक्ने इक्राले औंल्याएको छ । सरकारको बजेटमार्फत ऋण र शेयरमा लगानी प्राप्त गर्ने गरेको प्राधिकरणले गएको आर्थिक वर्ष २०७९÷०८० मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफा प्रक्षेपण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*