ठाउँ-ठाउँमा नोट साट्ने व्यवस्था गरिएपनि राष्ट्र बैंकमै भीड

२९ आश्विन २०८०, सोमबार १४:५३

काठमाडौं । दशैंको लागि नयाँ नोट साट्न पहिलो दिन सोमबार नेपाल राष्ट्र बैंकमा सर्वसाधारणको लामो लाइन देखियो । नयाँ नोट साटहीको पूर्व सूचना अनुसार सर्वसाधारण बिहानैदेखि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअघि लाइन बसेका थिए ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकको तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको छ। यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट सटही गरिरहेका छन्। सबैतिर नयाँ नोट सटहीको व्यवस्था गरिएपनि राष्ट्र बैंक मै बढी भीड लागेको छ । ।

७ बजेदेखि लाइन बसेकाहरुले ११ बज्दा समेत नयाँ नोट छुन पाएनन् भनेपछि लाइन लामै थियो । नोट साट्न राष्ट्र बैंकबाट पहिले टोकन लिनुपर्ने हुन्छ। विगतका वर्षमा राष्ट्र बैंकबाट मात्रै नयाँ नोट साट्न पाउने व्यवस्था रहेकोमा भीडभाड कम गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट समेत नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ तर पनि राष्ट्र बैंक मै सर्वसाधारणको भीड उत्तिकै देखिएको छ ।

साना ठूला सबै गरेर अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका बन्डल गरेर १८ हजार ५०० रुपैयाँ नै उपलब्ध हुने व्यवस्था केन्द्रीय बैकले गरेको हो ।

काठमाडौँ उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने ठाउँमा गई नयाँ नोट साट्न सक्ने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*