पाँच करोडसम्मको कर्जा पुनर्तालिकीकरण गर्न परिपत्र

१ कार्तिक २०८०, बुधबार १०:३६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाममा परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोडसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सक्ने भएका हुन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन, निर्माण (सिमेन्ट, डण्डी, इँटा, ब्लक, पाइप्स तथा फिटिङ लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्यसँग सम्बन्धित कर्जा र बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित परियोजनामा लगानी रहेको कर्जा पुनर्तालिकीकरण गर्न सकिनेछ ।

यस्तै, पाँच करोडसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने व्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी शर्तअनुसार कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने कुरा राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

२०७९ चैत मसान्तसम्म सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने समेत परिपत्रमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*