ठूलो संख्यामा मर्ज हुँदै लघुवित्त, कसको कोसँग ?

१ कार्तिक २०८०, बुधबार १७:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई सुविधा दिने भएपछि लघुवित्तहरु धमाधम मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् निरन्तरता दिएको छ भने हालै जारी गरेको परिपत्रमा पनि मर्जर र एक्विजिसनको व्यवस्था राखिएको छ ।

२०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । हालसम्म १२ वटा लघुवित्त वित्तीय संस्थाले आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जरको सम्झौता भएको छ ।

साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता गरेका छन् । सम्झौता पत्रमा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरे ।

दुवै लघुवित्तको शेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने सहमति भएको छ । मर्जरपश्चात् सबैको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भइसकेको छ । मर्जरपश्चात् लघुवित्त सञ्चालक समितिको अध्यक्ष साधना लघुवित्तबाट थापा बन्ने र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल नियुक्त हुने सहमतिसम्म भइसकेको छ । दुवै लघुवित्त राष्ट्रिय स्तरमा रुपमा कारोबार गरिरहेका छन् ।

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई लघुवित्तबीच शेयर स्वाप रेसियो १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा किसान लघुवित्तका सीईओ पर्वतकुमार कार्की नियुक्त हुने छन् भने अध्यक्षमा जाल्पा सामुदायिक लघुवित्तबाट बीरबहादुर अधिकारी रहने सहमति भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम मातृभूमि लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको छ ।

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान गत वर्षको चैत २ नै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । मानुषी लघुवित्तका तर्फबाट अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट अध्यक्ष राजकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गएको वर्ष पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने छन् ।

मर्जरपश्चात् लघुवित्तको सीईओमा नेरुडे लघुवित्तबाट भोजराज बस्याल र अध्यक्ष मिर्मिरे लघुवित्तबाट बन्ने सहमति भएको छ । मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार १ः०.८५ अनुपात कायम गरिएको सामुदायिक लघुवित्तका सञ्चालक हिरा लाल विश्वकर्माले बताए । उनका अनुसार मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मनकामना स्मार्ट लघुवित्त प्राप्तिपश्चात् समता घरेलु लघुवित्तको नामबाट कारोबार हुनेछ । शेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुने प्रारम्भिक सहमति भएपछि डीडीए रिपोर्टमा फरक आयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण गरिनेछ । माघसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको भएपनि सम्भव नभएकाले वैशाखसम्म मर्ज गरिसक्ने तयारी रहेको छ ।

मर्जरपश्चात् समता लघुवित्तबाट डा.मदन घिमिरे सीईओ बन्ने छन् भने अध्यक्ष डीएम थेबे लिम्बु रहने छन् । बागमति प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र बनाई कारोबार गरिरहेका दुवै मर्जरपश्चात् राष्ट्रिय स्तरको लघुवित्तका रुपमा स्तरोन्नति हुने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*