राष्ट्र बैंकबाट तरलता सुविधा उपभोग स्वाठ्ठै घट्यो, अन्तरबैंक कारोबारमा मनोमानी चल्ने संकेत

२ कार्तिक २०८०, बिहीबार १०:००

काठमाडौं । निक्षेप वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पाउने तरलता सुविधा घटेको छ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा तरलता बढ्ता भको छ । जसका कारण राष्ट्र बैंकबाट पाउने तरलता सुविधा घटेको हो ।

राष्ट्र बैंकको तथ्याङक अनुसार चालू आर्थिक वर्षको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट २ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ तरलता उपयोग गरेका छन् । तर, यो गत आर्थिक वर्षको सोही अवधि भन्दा ८६ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधालगायत उपकरणमार्फत १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता लिएका थिए ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा राष्ट्र बैंकले विभिन्न मौद्रीक उपकरणमार्फत तरलता सुविधा प्रदान गर्ने गर्दछ । बैंकहरुले विभिन्न ऋणपत्र र सरकारी ट्रेजरीमा गरेको लगानी धितोमा ऋण लिन पाउने प्रावधान छ ।

तरलता अभाव हुँदा राष्ट्र बैंकले तोके अनुसार अनिवार्य नगद मौज्दात (सीआरआर) लगायतमा रकम राख्न बैंकहरुले राष्ट्र बैंकबाट तरलता सुविधा लिई अन्तरबैंक कारोबार गर्ने गर्दछन् । तर, पछिल्लो समय व्याजदर न्यून भएकाले राष्ट्र बैंकको तरलता सुविधा छोडेर अन्तर बैंक कारोबार गर्ने गरेको पाइएको छ । यो आर्थिक वर्षको २ महिनामा मात्रै वाणिज्य बैंकहरुले ९ खर्ब २४ अर्ब ४२ करोड र अन्य वित्तीय संस्थाले १ खर्ब ५६ अर्ब ३८ करोड गरी १० खर्ब ८० अर्ब ८० करोडको अन्तरबैंक कारोबार गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*