दशैंको मुखमा एनआइसी एसिया बैंकको सिष्टममा लगातार समस्या, हजारौं चेक क्लियरिङ नहुँदा लाखौंको रकम रोकियो

२ कार्तिक २०८०, बिहीबार १२:२४

काठमाडौं । कमजोर व्यवस्थापनका कारण एनआईसी एसिया बैंकका ग्राहकहरुले हिजोदेखि चरम सास्ती भोग्न बाध्य भएका छन् । बैंकको सिष्टमले काम नगर्दा बैंकबाट रकम निकाल्न चाहनेहरुले असाध्यै पीडादायी अवस्था भोग्नुपरेको गुनासो गरेका छन् ।

बैंकको कमलादी शाखामा हिजोदेखिका सयौं कर्पोरेट चेकहरु अल्झिएका कारण हजारौं मानिसहरुको भुक्तानी रोकिएको छ । त्यस्तै, काठमाडौंका हरेक शाखाहरुमा हिजोदेखिका हजारौं चेकहरु पेण्डिङ भएको गुनासो बीमापोष्टलाई प्राप्त भएको छ ।

देशभर करिब ५० लाख खाता खोलेर सबैभन्दा ठूलो शाखा सञ्जाल र ग्राहक सञ्जाल बनाउन सफल एनआईसी एसिया बैंकमा उचित व्यवस्थापन हुन नसक्दा दशैंको मुखमा हजारौं सर्वसाधारणको बिचल्ली हुने अवस्था आएको छ ।
सिष्टम डाउन भएर हजारौं सर्वसाधारणले दुखः पाएको विषयमा एनआईसी एसिया बैंकले केही बताउन चाहेन ।

उता, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले चाडबाडको समयमा बैंकका सिष्टममा समस्या आउन सक्ने बताउँदै बैंकहरुसँग अप्ठेरो अवस्थामा पनि ग्राहकलाई सेवा दिन बैकल्पिक व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘अप्ठेरो अवस्थामा पनि सेवा दिन जुनसुकै बैंक, वित्तीय संस्था वा भुक्तानी प्रदायकहरु बैकल्पिक योजना हुनुपर्दछ ।’

विगतमा किष्ट बैंकमा झै लाखौं सेवाग्राहीलाई आकर्षित गरेपनि चुस्तदुरुस्त सञ्चालन योजना नहुँदा सर्वसाधारणले समय समयमा दुःख पाउँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*