अधिकांश बैंकको सिस्टममा गडबडी, चेक क्लियरिङ नहुँदा धेरैको दशैं अफ्ठेरोमा

२ कार्तिक २०८०, बिहीबार १७:४५

काठमाडौं । कमजोर व्यवस्थापन र अनअपडेट प्रविधिको परबन्धबाट बाहिर निस्किन नसकेका अधिकांश वाणिज्य तथा विकास बैंकहरुले धेरैको दशैं खल्लो बनाउने भएका छन् । अधिकांश बैंकहरुको ‘सिस्टम’का कारण धेरैको दशैं खल्लो हुने भएको हो । बैंकका ग्राहकहरुले दुई तीन दिन यता अति कष्ट भोगिरहेका छन् ।

अधिकांश बैंकको सिस्टमले काम गरेको छैन । सिस्टमका कारण चेक क्लियरिङको काम हुन सकेको छैन । हजारौंको संख्यामा चेकहरु अल्झिएका छन् । सिस्टमको उल्झनले हजारौं मानिसहरुको भुक्तानी रोकिएको छ । बेलुकी अवेरसम्म बैंकका शाखाहरु खुले पनि अधिकांशको सिस्टमले बराबर काम गरेको छैन ।

भुक्तानी रोकिएपछि बडा दशैंका लागि गरिने किनमेल समेत धेरैले गर्न पाएका छैनन् । बैंकका हरेक शाखाहरुमा हजारौं चेकहरु पेण्डिङ भएर बसेका गुनासो बीमापोष्टलाई प्राप्त भएको छ । अन्य समयमा प्रतिष्पर्धात्मक सेवाको ध्वाँस दिने बैंकहरु यतिबेला सिस्टमले धोका दिएको भन्दै टाउको समातेर बसिरहेका छन् । नागरिकहरु आफ्नै रकम बैंकको खाताबाट झिक्न पाइरहेका छैनन् । हजारौं सर्वसाधारणले दुखः पाएको विषयमा बैंकहरु केही बताइरहेका छैनन् ।

नेपाल राष्ट्र बैंकले चाडबाडको समयमा बैंकको सिस्टममा समस्या आउन सक्ने बताउँदै बैंकहरुसँग अप्ठेरो अवस्थामा पनि ग्राहकलाई सेवा दिन बैकल्पिक व्यवस्था गर्नसक्नु पर्ने बताएको छ ।  अप्ठेरो अवस्थामा पनि सेवा दिन जुनसुकै बैंक, वित्तीय संस्था वा भुक्तानी प्रदायकहरुसँग बैकल्पिक योजना भइरहनु पर्ने राष्ट्र बैंकको भनाइ छ ।

यस्तो समस्या पहिलो पटक आइलागेको भने होइन । बैंकहरुले पटक-पटक सिस्टमले धोका दिएको बहाना गर्दै आए पनि सुधारतर्फ ध्यान दिएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*