बैंकहरु आफुखुशी चल्न थालेपछि बढ्यो व्याजदर

३ कार्तिक २०८०, शुक्रबार ०९:३८

काठमाडौं । बैंकहरुको निक्षेप जोगाउने होडबाजीका कारण व्याजदर बढेको छ । तरलताको अवस्था सहज भए पनि सहमतिको बर्को हटाएसँगै बैंकहरुबीच निक्षेप जोगाउने प्रतिस्पर्धा चल्यो ।

नेपाल बैंकर्स संघले सहमतिमा व्याजदर तोक्ने प्रचलन तोडेसँगै साउनदेखि बैंकहरुले आफुखुशी व्याजदर तोकिरहेका छन् । जसका कारण वाणिज्य र विकास बैंकहरुको आधारदर र व्याजदर बढेर गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० साउनमा वाणिज्य बैंकहरुमा निक्षेपको औषत व्याजदर र आधारदर बृद्धि भएको छ । कर्जाको व्याजदर भने सामान्य घटेको देखिन्छ ।

भदौमा वाणिज्य बैंकहरुको निक्षेपको औषत व्याजदर ८.०६ प्रतिशत, विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत कायम भएको अवस्था छ । पोहोर साल भदौमा वाणिज्य बैंकहरुको निक्षेपको औषत व्याजदर ७.०१ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्तिम असार महिनामा ७.८६ प्रतिशत व्याजदर कायम भएको तथ्य छ ।

निक्षेपको प्रतिस्पर्धाका कारण बैंकहरुको व्याजदर बढेर गएको छ । कार्तिकमा १४ ओटा बैंकले निक्षेपको व्याजदर घटाएका छन् । वैशाखमा वाणिज्य बैंकतर्फ मुद्दती निक्षेपको अधिकतम व्याजदर ९.९९ प्रतिशतमा झरेकोमा कार्तिकमा अधिकतम ११.०३ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार नयाँ महिनाका लागि अघिल्लो महिना नै व्याजद तोकिनुपर्छ । जहाँ व्याजदर तोक्दा एक पल्टमा १० प्रतिशत मात्रै तलमाथि गर्न पाइने प्रावधान छ । निक्षेपको व्याजदर बढेसँगै बैंकहरुको लागत महँगो भएपछि उनीहरुको आधारदर पनि निरन्तर बढिरहेको छ ।

भदौमा वाणिज्य बैंकहरुको आधारदर १०.१४ प्रतिशत र विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्त कम्पनीहरुको १३.५२ प्रतिशत पुगेको छ । पोहोर साल भदौमा वाणिज्य बैंकहरुको आधारदर १०.०१ प्रतिशत थियो । बैंकहरुले पछिल्लो ३ महिनाको आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको व्याजदर तोक्न पाउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*