राष्ट्र बैैंकले २७ अर्ब ६६ करोडको ट्रेजरी विल विक्री गर्दै, कार्तिकमा मात्रै ४४ अर्ब आन्तरिक ऋण उठाइयो

१३ कार्तिक २०८०, सोमबार १०:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार मात्रै २७ अर्ब ६६ करोड रुपैयाँको आन्तरिक ऋण उठाइदिने भएको छ । चालू आर्थिक वर्षमा सरकारका लागि कूल दुई खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने दायित्व लिएको राष्ट्र बैंकले सोमबार (आज) ट्रेजरी विल विक्रीमार्फत २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ऋण उठाइदिन लागेको हो ।

सोमबार अपरान्हअघि तीन बजेसम्म बोलकबोलका माध्यमबाट ट्रेजरी विल विक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । कूल २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी विलमध्ये २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिन अवधिको १३ अर्ब र तीन सय ६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँ रहेको बताइएको छ ।

यी ट्रेजरी विल परिपक्व हुने अवधि क्रमशः २०८० मंसिर १२, २०८० माघ १६, २०८१ वैशाख १८ र २०८१ कार्तिक १३ गते रहेको छ । जारी मिति भने यही कार्तिक १४ गते मंगलबार राखिएको छ । ट्रेजरी विल खरिदका लागि वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले बोलकबोल पेश गर्न सक्नेछन् । विक्री गरिने सबै ट्रेजरी विलहरु पुरानो नवीकरणअन्तर्गत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि कार्तिक ३ गते राष्ट्र बैंकले सरकारका लागि १६ अर्ब ४० करोड रुपैयाँ बराबरको ट्रेजरी विल विक्री गरी आन्तरिक ऋण जोहो गरिदिएको थियो । कार्तिकमा मात्रै राष्ट्र बैंकले सरकारका लागि ४४ अर्ब आन्तरिक ऋण उठाएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*