नेपालको आर्थिक वृद्धिदर ३.९ % हुने विश्व बैंकको प्रक्षेपण

१६ आश्विन २०८०, मंगलवार १४:०९

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

आयात प्रतिबन्ध हट्दै जानु, पर्यटन क्षेत्र पुनरुत्थानतर्फ जाँदै गर्नु र मौद्रिक नीति विस्तारै खुकुलो बन्दै जानुले चालु आवमा सन्तोषजनक आर्थिक वृद्धि हुन प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ । गत आवमा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत मात्रै भएको थियो ।

चालु आवमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण गरिएको छ । कृषि क्षेत्रको वृद्धि २.१ प्रतिशत, उद्योगको वृद्धिदर ३.२ प्रतिशत हुने र सेवा क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

मनसुनका कारणका नेपालमा कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने र भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिन सक्ने जोखिम प्रति विश्व बैंकले ध्यानाकर्षण गराएको छ ।

मंगलबार सार्वजनिक गरिएको विश्व बैंकको अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेटको अनुमानले आगामी आर्थिक वर्ष २०८१÷८२ मा आर्थिक वृद्धि ५ प्रतिशत हुने छ ।

नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावलाई ध्यान राखेर यो वर्षको आर्थिक वृद्धिको प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ । यो वर्ष कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य रहे पनि सेवा क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकको छ ।

राष्ट बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम रहने लक्ष्य निर्धारण गरेकोमा राष्ट बैंकले तोकेको लक्ष्यभन्दा बढी हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । मूल्यवुद्धि साढे ७ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि ७.८ प्रतिशत रहेको थियो ।

त्यस्तै, दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*