वित्तीय संस्था एवं पूँजी बजारका लगानीकर्तालाई निराश पार्ने सरकार नै हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बैंक तथा वित्तीय संस्था एवं पूँजी बजारका लगानीकर्तालाई निराश बनाउने काम मात्रै गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सम्बोधन गर्दै नेता ओलीले बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरुको गुनासो सुन्ने र सम्बोधन गर्ने चेष्टा सरकारले नगरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘लगानीकर्ता निराश भएसँगै पूँजी बजारको अवस्था डामाडोल भएको छ । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरु अलमलमा छन् । उनीहरुले थप योजना बनाउन सकेका छैनन् । लगानीको थप वातावरण निर्माण गर्नु पर्ने सरकार उल्टै तिनै बैंकबाट ऋण उठाएर आफ्ना कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको छ । नेपाली अर्थतन्त्रका लागि यो भन्दा लाजमर्दो के हुन्छ ?’
सरकारले बजेट ल्याउँदा यो आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने भनेकामा अन्तर्राष्ट्रिय सर्भेक्षक निकायहरुले ३ दशमलव ४ मा खु्म्चिने प्रक्षेपण गरिरहेका छन्, ओलीले अगाडि भने, ‘सरकारको गतिले २ प्रतिशत पनि आर्थिक वृद्धि हासिल गर्न मुस्किल देखिएको छ ।’
०३६–०३७ को भन्दा पनि खराब स्थितिमा अर्थतन्त्र पुगेको भन्दै नेता ओलीले आयातमा अधिक बढोत्तरी हुँदा निर्यात र उत्पादनमूलक काममा सरकारको विल्कुल ध्यान नगएको टिप्पणी समेत गरे ।
सरकारले विप्रेषण थुप्रिएको बताइरहेको सुनाउँदै उनले उत्पादनमूलक कामहरु नभएपछि विप्रेषण थन्किनु नौलो कुरा नभएको तर्क गरे । हुलाक सञ्चालन गर्नेले अर्थतन्त्र सञ्चालन गरेर हुन्छ, भन्दै व्यंग्य समेत गरे ।