वाणिज्य बैंकका सिईओहरु बोलाएर गभर्नरले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सिईओहरुसँग बसेको छलफल सम्पन्न भएको छ । बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब सार्वजानिकरुपमा आफूले प्रष्ट कुरा राख्ने बताए ।
कार्यक्रममा किङ सिस्टममा समस्या देखिन थालेको, एण्टी मनि लाउण्डरिङको विश्वव्यापी इस्यू उठिरहँदा त्यसमा बैंकहरु गम्भीर नभएका र त्यसको पालना नहुँदा समस्या हुनसक्नेतर्फ सचेत गर्ने बिषयमा छलफल भएको थियो ।
अहिले राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीकाविरुद्ध विभिन्न फोरमहरुमा चरम आलोचना हुँदै आएको छ । गभर्नरकै कारण अर्थतन्त्रमा सुस्तता आएको सरोकारवालाहरुको आरोप छ । तर, गभर्नर र राष्ट्र बैंकका अधिकारीहरु भने वित्तीय अनुशासनमा नबसेकाहरुले राष्ट्र बैंकको नीतिको आलोचना गर्दै आएको बताउँदै आएका छन् ।गभर्नर अधिकारीले बैंकरहरुलाई राष्ट्र बैंकका नीति निर्देशनको अक्षरश पालना गर्न निर्देशन पनि दिए ।
‘परिस्थिति कठिन छ भन्ने कुरा तपाईंहरुले बुझ्नुभएकै छ, कम्प्लाइन्समा कति पनि कम्प्रमाइज नगरी कर्जा असूली गर्नुस्, हामीले वित्तीय स्थायित्वका लागि काम गर्नुपर्छ,’ गभर्नर अधिकारीले निर्देशन दिए ।
कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले परिस्थिति कठिन रहेको भन्दै संयमित भएर कर्जा असूली गर्न सुझाएका थिए । अर्का डेपुटी गभर्नर निलम तिम्सीनाले वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंक र बैंकहरु मिलेर अघि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा सुपरिभिजन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले प्रस्तुति दिएका थिए । उनले गत वर्ष राष्ट्र बैंकले विभिन्न बैंकहरुमा गरेको सुपरिभिजनका क्रममा देखिएका कमी कमजोरीहरु उल्लेख गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्न निर्देशन दिएका थिए । नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनको अक्षरश पालना गरेर हिँड्न निर्देशन दिएका थिए ।
ठमेलस्थित अलफ्टमा भएको कार्यक्रममा अधिकांश बैंकका सीइओहरु उपस्थित थिए ।
‘यो नियमित वार्षिक कार्यक्रम हो, राष्ट्र बैंकका अधिकारीहरुको कन्सर्न कम्पाइन्समा कम्प्रमाइज नहोस् भन्ने थियो, ‘एक बैंकका सीइओले भने, ‘दबाब नदिइ ऋण असूली गर्नु भन्ने उहाँहरुको निर्देशन थियो, जुन विरोधाभाषपूर्ण छ, किनभने उहाँहरुले जारी गरेका नीति निर्देशन पालना गर्ने हो भने जसरी भएपनि कर्जा असूली गर्नुपर्ने हुन्छ ।’
कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको निधनबारे पनि चासोकासाथ छलफल भएको थियो ।