दुई कम्पनीको बाँडफाँड भोलि हुँदै

१५ कार्तिक २०८०, बुधबार १२:०२

काठमाडौं । दुई कम्पनीले भोलि बिहीबार (कात्तिक १६ गते) बाँडफाँड गर्ने भएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्न लागेको हो ।

चिरख्वा हाइड्रोपावरको आईपीओ भोलि बिहीवार दिउँसो १ बजे बाँडफाँड हुनेछ । बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले सो समयमा बाँडफाँड गरिने जनाएको हो ।

यस कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यो माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

कम्पनीले असोज २३ गते देखि २६ गते सम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।

त्यस्तै, मिर्मिरे लघुवित्तको एफपीओ भोलि (बिहीबार) बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ।

मागभन्दा १३० दशमलव ६३ गुणा बढी आवेदन परेको मिर्मिरे लघुवित्तको एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी रहेका १४ लाख ९ हजार ३९६ जनाको हात खाली हुनेछ ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशनमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*