प्रभु बैंकका सिईओ शेरचनविरुद्धको रिट खारेज

१५ कार्तिक २०८०, बुधबार २०:५९

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सीईओमा गरिएको नियुक्ति कानुनसम्मत रहेको ठहर गरी बुधबार रिट निवेदन खारेजीको फैसला गरेको हो ।

शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले ०७९ माघमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । रिटमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ र प्रभु बैंकका सञ्चालकलगायत १६ व्यक्ति तथा संस्थालाई विपक्षी बनाइएको थियो ।

प्रभु बैंकले र सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि बैंक सञ्चालक समितिले शेरचनलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकको प्रमुख कार्यकारी अधिकृत एउटै बैंकमा दुई कार्यकालभन्दा बढी नियुक्त हुन नपाउने व्यवस्था छ । उक्त ऐन ०७३ देखि कार्यान्वयनमा आएको हो ।

ऐन कार्यान्वयनमा आएपछि ०७९ माघमा भएको शेरचनको नियुक्ति दोस्रो कार्यकाल हो । यही आधारमा शेरचनको नियुक्ति कानुनसम्मत रहेको भन्दै रिट खारेज भएको हो ।

यद्यपि बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिनरलिन कुनै बाधा नपुग्ने गरी राष्ट्र बैंकले सुविधा दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*