मुनाफा घटेपनि एनआईसी एसिया बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ माथि, अन्य सूचांक कस्तो ?

१७ कार्तिक २०८०, शुक्रबार ०८:३३

काठमाडौं । देशभर सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंकले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले तीन महिना अवधीमा एक अर्बभन्दा बढि मुनाफा कमाउन सफल भएको देखिएको छ । एनआईसी एसिया बैंकले खुद मुनाफा घटेपनि प्रतिशेयर आम्दानी २७ रुपैयाँ माथि पुर्याएर आफूलाई बढि लाभांश दिने बैंकको सूचिमा कायमै राख्न सफल भएको छ ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आम्दानी गरेको छ । यद्यपि बैंकको मुनाफामा भारी गिरावट आएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत मुनाफामा गिरावट आएको देखिएको छ ।

२०७९ असोज मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको तुलनामा यस आवमा एनआईसी एसिया बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बृद्धि भएको देखिएको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत र सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी सामान्य अंकले घटेर ३२ रुपैयाँ ५३ पैसाबाट २७ रुपैयाँ ९ पैसामा झरेको छ । बैंकको मुनाफा घटेपनि प्रतिशेयर आम्दानी भने अन्य बैंकहरुको तुलनामा निकै माथि रहेको देखिएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ ।

पछिल्लो तीन आर्थिक वर्षमा आर्जित मुनाफाबाट केही समय अघि मात्रै बैंकले २९ प्रतिशत बोनस शेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको एनआईसी एसिया बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*