सुन र चाँदीका ताजा सिक्का किन्न टक्सारमा ५ बजेसम्मै लाइन, कतिबेरमा आउँछ पालो ?

२० कार्तिक २०८०, सोमबार १७:३१

काठमाडौं । अन्य क्षेत्रमा आफुहरुको लगानी धरापमा परेको सुइको पाएका सर्वसाधारणहरु सुनप्रति आकर्षित भएका छन् । सुनको भाउले छलाङ मारेकै बेला सर्वसाधारणको ‘सुन क्रेज’ प्रमाणित भएको छ । जसको उदाहरण हो, नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर विक्री गरिरहेको सुन र चाँदीका सिक्का किन्न लागेको भीड ।

आइतबारदेखि नेपाल राष्ट्र बैंकले हिन्दुहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री गरिरहेको छ । केन्द्रीय बैंकले बबरमहलस्थित मुद्रा व्यवस्थापन विभाग अर्थात् टक्सार महाशाखामार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री खुला गरेको छ । जहाँ सुनका असर्फी र चाँदीका सिक्का किन्न सर्वसाधारण विहान ९ बजे नै लाइनमा बस्छन् भने साँझ ५ बजेसम्म कुरेर सिक्का किनेर लान्छन् ।
एक जना महिला सेवाग्राहीले बीमापोष्टसँग भनिन्, ‘हिजो ढिलो आइपुगेर पालो नै पाइँन । आज १० बजे नै आएर लाइन बसेको ३ घण्टासम्म लाइन बसेपछि बल्ल पालो आयो ।’ उनले अघिल्लो वर्ष सुनको सिक्का किन्न नपाएकाले यो वर्ष सुन नै लिने ध्येयले आएको बताईन् ।

उनी मात्रै होइन, लाइनमा बसेका अधिकांशले सुनकै सिक्का किन्ने कुरा बताए । एक जना पुरुष सेवाग्राहीले राष्ट्र बैंकले वितरण गर्ने सुनको सिक्कामा शुद्धता हुने र पछि त्यो जुनसुकै बेला उपयोग गर्न सकिने भएकाले ५ वर्षदेखि लगातार असर्फी संकलन गरिरहेको बताए ।

उनले भने, ‘अहिले त तिहारमा पूजा गर्ने हो । पछि छोरा नातीको विवाह गर्दा गज्जब काम लाग्छ नि !’ उनले बजारबाट किनेको सुनमा विभिन्न समस्या निम्तिने भए पनि राष्ट्र बैंकले विक्री गर्ने सिक्का किन्दा ढुक्क हुने समेत बताए ।
सिक्का लिन लाइनमा बसेका अर्का सेवाग्राहीले अन्यत्र भन्दा सुनका लगानी सुरक्षित हुने भएका कारण पनि सुनकै असर्फीका लागि लाइन बसेको जानकारी दिए । उनले भने, ‘सुन सुनै हो । अहिलेको अवस्थामा सुनमा गरेको लगानी खेर जाँदैन । सुरक्षित हुन्छ । तिहार कै बहाना भए पनि सुन किनेर लाँदा लगानी सुरक्षित भयो नि !

टक्सारले २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने समय राखेको भए पनि सिक्का किन्नेहरु ५ बजेसम्म लाइन कुरेर बस्ने गरेको निर्देशक थानेश्वर आचार्यले बीमापोष्टलाई बताए । उनले विगतभन्दा यो पल्ट निकै व्यवस्थित गरिएको जानकारी दिए । उनका अनुसार चाँदी र असर्फीको लागि नगद तिरेर किन्नेको एक लाइन र क्युआरबाट भुक्तानी गर्नेको अर्को लाइनको व्यवस्था मिलाइएको छ ।

उनले भने, ‘सुनको असर्फीको हकमा १ देखि डेढ घण्टा लाइन बस्दा खरिद काउन्टरमा पुगेर लिने व्यवस्था मिलाइएको छ । असर्फी पनि पूरानो होइन भरखरै गालेर ताततातै दिने हो ।’ उनका अनुसार टक्सारले आइतबार र सोमबार दुई दिन तिहारका लागि विक्री वितरण गरिने सुनका सिक्का सुन गालेर नयाँ छापेको छ ।

एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउँछन् । जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउँछन् । गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउँछन् । मूल्य भने दैनिक बजारभाउ अनुसार दिनकै तोक्ने गरिएको निर्देशक आचार्यले बताए । राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*