बैंकिङ प्रणालीमा निक्षेप ५९ खर्ब, व्याजदर घट्ने संकेत

बैंकहरुसँग अझै ५ खर्ब कर्जा प्रवाह गर्ने क्षमता
२२ कार्तिक २०८०, बुधबार १०:२२

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप रकम ५९ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैैंकको तथ्याङक अनुसार हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरुको निक्षेप ५२ खर्ब १४ अर्ब पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ । यस्तै, कर्जा लगानी समेत ५० खर्ब पुगेको बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकबाट मात्रै ४४ खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले पाँच खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

आइतबारसम्मको तथ्याङक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ५३ प्रतिशत छ । बैंकहरुले कुल निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न पाउने व्यवस्था छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरुसँग अझै पाँच खर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ । निक्षेप संकलन बढ्दै गएकाले अब व्याजदर घट्दै जाने अड्कल बैंकहरहरुले गरेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले अब व्याजदर घट्दै जाने बताएका छन् । उनले बैंकहरुको औसत आधारदर एकल विन्दुमा झरेको र प्रिमियम पनि घटाउँदै लगिएको समेत बताएका छन् । राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबारको व्याजदर ३ दशमलव २२ प्रतिशत छ । रुस-युक्रेन युद्धपछि विश्वभर बढेको महँगीको प्रभाव नेपालमा पनि परेको र कोरोनापछि आयात बढ्दा सरकारले विलासी वस्तुको आयात रोक्दा त्यसको असर समेत आन्तरिक बजारमा परेसँगै अर्थतन्त्र थप सुस्ताएको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*